५ माघ २०७७
धुलिखेल । अनौपचारिक क्षेत्र सेवा केन्द इन्सेक काभ्रेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम आइतबार धुलिखेलमा सम्पन्न भएको छ ।
जिल्लामा २०२० जनवारी १ देखि डिसेम्बरसम्म एक वर्षको अवधिमा सङ्कलन गरिएको महिला अधिकार अन्तर्गत ४० ओटा भन्दा बढी घटना अभिलेख गरिएकोमा परिवारजनबाट तीन जनाको हत्या, कथित बोक्सीको आरोप तीन ओटा, बहुविवाह चार ओटा, बलात्कारका २५ ओटा, घरेलु हिंसाका पाँच ओटा रहेका छन् ।
बाल अधिकार उल्लङ्घनतर्फ २० ओटा घटना अभिलेख भएकोमा १७ जना बालिका बलात्कारबाट पीडित भएका छन् ।
साथै राज्य पक्षबाट भएका मानव अधिकार उल्लङ्घनका घटनामा नेपाल कम्न्युष्टि पार्टी (नेकपा) का पाँच जना कार्यकर्ता गिरफ्तार भएको अभिलेख रहेको छ ।
पूर्व समीक्षा कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले शान्तिपूर्ण रुपमा बाँच्न पाउने अधिकार कसैले हनन गर्न नपाउने बताए ।
यसै गरी विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले मावन अधिकार वर्ष पुस्तकमा समाजमा भइरहेका घटनाहरू उल्लेख गरेर राज्यलाई इन्सेकले झकझक्याउने गरेको बताए ।
कार्यक्रममा इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक कृष्ण गौतमले मानव अधिकार वर्ष पुस्तकमा उल्लेख गरिने घटनाले आउँदा दिनमा समाजमा के कस्ता घटना हनसक्छन् भन्ने पूर्वानुमान गर्दै आगामी दिनमा मानव अधिकार उल्लङ्घनका घटनालाई कम गर्न सकिने बताए ।
जिल्ला समन्वय समितिका उपप्रमुख मञ्जु गौतमले कतिपय ठाउँमा जघन्य अपराधका घटना समेत मेलमिलाप भएको आफूले सुनेको भन्दै मानव अधिकार वर्ष पुस्तकमा मेलमिलाप भएका घटनाका विषयलाई समेत समेटेर नयाँ संरचना अनुसार स्थानीय न्याय समितिबाट न्यायमा भइरहेका प्रगतिलाई उल्लेख गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्लाका पत्रकार, नागरिक समाजका अगुवा, काभ्रे बार लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
इन्सेकले हरेक वर्ष फागुन ७ गते प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशनका लागि जिल्लामा अभिलेख भएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको बारेमा वर्षमा दुई पटक पूर्व समीक्षा गर्ने गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।