६ माघ २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो अनुहार ऐनामा हेर्न अनुरोध गरेका छन् । प्रेस संगठन, नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।
उनले आफू यद्धको कमाण्डर भएको भन्दै कठोर हुनुपर्ने समय आए प्रतिगमनकारीलाई भित्तामा र्पुयाइदिने चेतावनी समेत दिए ।
‘उहाँले मलाई पूर्व एमालेभित्र खेल्यो भन्नुहुन्छ । सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा पूर्वएमालेकै बहुमत छ । तर, त्यस्तो हुँदा किन तपाई अल्पमतमा पर्नुभयो ?’ प्रचण्डले भने, ‘तपाई मलाई आरोप लगाइराख्नुभएको छ । आफ्नो अनुहार ऐनामा किन हेर्नुहुन्न ?’
ओलीले वैशाखमा पनि अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेका र असारमा पनि एमाले दर्ता गराएर नेकपा फुटाउन खोजेका उनको आरोप थियो । ‘निर्वाचन आयोगमा आफ्नो निर्देशनमा एमाले दर्ता गराउनुभयो । डाँडाको बीचको भएको सूर्य चिन्ह भयो । मैले कार्यदल बनाएर पार्टी फुटाउन दिइनँ ।’
ओलीले पटक पटकको प्रयासपछि पार्टीमा संकट ल्याएका पनि उनको आरोप थियो । ‘पहिलो र दोस्रो पटकको प्रयासलाई असफल बनायौँ । तर, तेस्रो पटकमा उहाँले पार्टीमा यो संकट ल्याउनुभयो ।’ उनले भने, ‘पार्टीको बैठकमा पनि नआउने, पार्टीको कुनै निर्णय पनि नमान्ने भएपछि संकट निम्तियो ।’
ओली विदेशी शक्तिसँग लागेर खोक्रो राष्ट्रवाद देखिएको बताए । ‘तपाईंको खोक्रो राष्ट्रवाद सावित भयो । तपाईंलाई काम गर्न कसले रोकेको थियो ?’ उनले भने, ‘हामी सबै प्रधानमन्त्री भएर भयौँ । तर, छाड्दा पार्टी फुटाउन परेन ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















