७ माघ २०७७
हेटौंडा । आज (बुधबार) बाट बागमतीमा प्रदेशसभाको हिउँदे अधिवेशन सुरु हुँदै छ । यहीं अधिवेशनमा अविश्वासको प्रस्ताव समेत छलफलको विषय बन्ने छ । नेकपा विभाजन भएपछि वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेको थियो ।
बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव तत्काल प्रदेशसभा बैठकमा पेस नहुने भएको छ । ६ महिनापछि बुधबारबाट बोलाइएको सातौँ अधिवेशनको पहिलो बैठकमा अविश्वासको प्रस्ताव पेस नहुने भएको हो ।
प्रदेशसभाको बिजनेस तय गर्न मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, सत्तापक्ष नेकपाको प्रचण्ड–नेपाल पक्षधर सांसदले तत्काल अविश्वासको प्रस्ताव पेस गरेर प्रक्रिया अघि बढाउन माग गरे । तर, प्रदेशसभा नियमावलीको २८ को बुँदा ५ अनुसार नै अविश्वासको प्रस्तावसम्बन्धी कार्यविधि निर्माण गरेर अघि बढ्ने गरी निर्णय भयो । बैठकले अविश्वास प्रस्तावबारेको मत विभाजनका लागि कार्यविधि बनाउन ‘अविश्वासको प्रस्ताव कार्यविधि मस्यौदा समिति’ गठन गर्ने निर्णय गरेको छ ।
समितिमा नेकपाका मुख्य सचेतक केशव पाण्डे, सचेतक बुद्धिमान माझी, नेपाली कांग्रेस संसदीय दलका सचेतक छिरिङदोर्जे लामा, सांसद राजेन्द्र पाण्डे, गणेश दुलाल, रिता माझी, रिना गुरुङ, शोभा शाक्य र प्रदेशसभाका सचिव कृष्णहरि खड्का छन् ।
मंगलबारको निर्णयअनुसार बुधबारको बैठकले सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र, विधेयक प्रमाणीकरणको पत्र, प्रदेश प्रमुखले कार्यभार तोकेको पत्र पढेर सुनाउने, सातौँ अधिवेशनको अवसरमा प्रत्येक दलका नेताले शुभकामना दिने र दस्तखतसहितको मत विभाजनसम्बन्धी कार्यविधि स्वीकृत गर्नेछ ।
सभामुख सानुकुमार श्रेष्ठका अनुसार समितिलाई बैठकले कार्यविधि पेस गर्न समयसीमा तोकिएको छैन । समितिले कार्यविधि तयारका लागि अविश्वासको प्रस्ताव अध्ययन गर्ने र प्रदेशसभा सचिवालयमा पेस गरेपछि कार्यविधिअनुसार प्रक्रिया अघि बढाइने सभामुख श्रेष्ठले जानकारी दिए । उनले पहिलो बैठकमै अविश्वासको प्रस्ताव पेस नभए पनि कार्यविधि तयार भएपछि सातौँ अधिवेशनभित्रै कानुनबमोजिम टुंगो लगाइने बताए ।
समितिको बैठकमा प्रचण्ड–नेपाल समूहका प्रतिनिधि राजेन्द्र पाण्डेले अविश्वासको प्रस्ताव तत्काल टुंग्याउन जरुरी रहेको बताएका थिए । मुख्यमन्त्री पौडेलनिकट भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले भने दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रिया नै गलत भएको टिप्पणी गरे । कांग्रेस संसदीय दलका सचेतक सांसद छिरिङदोर्जे लामाले अविश्वासको प्रस्तावको प्रक्रियालाई कानुनी ढंगबाट टुंग्याउनुपर्ने बताए । उनले प्रदेशसभाको अधिवेशन बन्द रहेको अवस्थामा अविश्वासको प्रस्ताव पेस भएका कारण प्रक्रियागत ढंगबाट टुंग्याउन जरुरी रहेको बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।