७ माघ २०७७
काठमाडौं । बागमती प्रदेशको सातौं अधिवेशनको पहिलो बैठकमा प्रदेश सांसद अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको पूर्वअध्यक्ष भन्दै सम्बोधन गरेकी छिन् । आज बुधबार सुरु भएको अधिवेशनमा नेकपाकी संसदीय दलका नेता शाक्यले ओलीलाई पूर्व अध्यक्ष भनेर सम्बोधन गरेकी थिइन् ।
सम्बोधनको क्रममा शाक्यले आफ्नो सम्बोधनको क्रममा ओलीलाई पटकपटक पूर्वअध्यक्ष भनिन् । उनले ओलीलाई कमरेड नभन्ने समेत बताइन् ।
‘अहिले संघीय लोकतन्त्र गणतन्त्रमाथि गणतन्त्रका प्रधानमन्त्री, जो हामी सबैले विश्वास गरेको, सबैले मानेको, गणतन्त्रका प्रधानमन्त्री, नेपाल कम्युनिस्ट पार्टीको पूर्वअध्यक्ष पनि हो ।’ उनले भनिन् ‘उहाँले आज हाम्रो संविधानमाथि कुल्चिएको र धावा बोलेको अवस्था छ। हामीले धावा बोलेर ल्याएको गणतन्त्रमाथि प्रहार गरेको अवस्था छु ।’
जनताको आवाज मुखरित गर्ने प्रतिनिधि सभालाई ठाडै हस्तक्षप गर्ने र विघटन गर्ने काम भएको उनले बताइन् । ‘प्रधानमन्त्री ओलीलाई त्यो अधिकार छैन। तर अधिकार नभए पनि हस्तक्षप गर्ने काम भएको छ । यसरी गणतन्त्रको प्रधानमन्त्रीले मनपरी गरे। त्यसैले नेकपाले प्रतिगमन भएको भनेको छ।’ शाक्यले भनिन् ।
उनले प्रतिनिधि सभा विघटन गर्ने कदमको विरुद्ध आफूहरु संघर्ष गरिरहेको बताइन् । ‘अधिकारलाई खोसिन नदिनका लागि सडकमा आइपुगेका छौं ।’ –उनले भनिन् ।
उनले चुनाव गर्नका लागि चुनावको मिति घोषणा नभएको बताइन्। चुनावको कुरा जनतालाई दिइएको भन्दै त्यसको भ्रममा नपर्न आग्रह गरिन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















