८ माघ २०७७ धुलिखेल । जिल्ला प्रहरी कार्यालय, काभ्रेका नयाँ प्रमुख एसपी भुपेन्द्रबहादुर खत्रीले अपराध नियन्त्रणको लागि खरो उत्रिने बताएका छन् । बुधबार काभ्रेका पत्रकारहरुसँगको भेटघाटमा एसपी खत्रीले उक्त कुरा बताएका हुन् ।
प्रहरीसम्म सबै नागरिकको सहज पहुँच पुग्न नसकेको बताउँदै एसपी खत्रीले यसको लागि सबैको सहयोगको आवश्यकता रहेको बताए । ‘सामान्य नागरिकको पनि प्रहरीसम्म सहज पहुँच बनाउँछु । मैले यहाँ यो दखिरहेको छैन ।’ उनले भने, ‘सबैबाट रचनात्मक सहयोग पाउनेमा अपेक्षा गर्छु ।’
उनले काभ्रेको मुख्य समस्या के हो त्यसमा नै पहिलो प्रहार गर्ने बताउँदै नदीजन्य अवैध प्राकृतिक दोहनलाई रोक्ने प्रतिबद्धता जाहेर गरे । ‘यहाँको मुख्य समस्या के हो त्यसमा पहिलो हिट गरौं । लागु औषधको समस्या हो कि, आत्महत्याको समस्या होकी, घरेलु हिंसाको समस्या हो कि ? या नदीजन्य अवैध प्राकृतिक दोहनको समस्या हो ?’ एसपी खत्रीले भने, ‘त्यहाँ भित्र पनि धेरै ठूलो समस्या छ मैले बुझीरहेको छु ।’
आफू आर्थिक प्रलोभनमा नपर्ने दावी गर्दै खत्रीले त्यस्तो भेटिए धुवाँधार न्यूज लेख्न पत्रकारहरुलाई अनुरोध समेत गरे । ‘म के प्रतिबद्धता जाहेर गर्छु भने पहिलो कुरा त म आफैले पनि उदाहरणीय हुनुपर्छ भन्ने लाग्छ ।’ उनले भने, ‘म कुनै पनि आर्थिक प्रलोभनमा पर्दिन । कुनै दिन परे भने मेरो विषयमा धुवाँधार न्यूज लेख्नुहोला ।’
‘वाह प्रहरी र छ्या प्रहरी’को प्रसंग निकाल्दै उनले वाह वाहलाई बढाउने र छ्याछ्यालाई हटाउने अभियानमा आफू लाग्ने उनले बताए ।