८ माघ २०७७
हेटौंडा । चितवनमा कार्यरत तीन जना प्रहरी कर्मचारी घुस लिएको आरोपमा निलम्बन गरेको छ । वागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले घुस लिंदै गरेको अवस्थामा नियन्त्रणमा लिएका तीन जनालाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीले जानकारी दिएकी छन् ।
‘आर्थिक प्रलोभनमा परी आफुलाई दिईएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगर्ने तीन जना प्रहरी कर्मचारीहरुलाई आज निलम्बन गरीएको छ ।’ प्रहरी बरिष्ठ उपरीक्षक चौधरीले भने । उनीहरुलाई गत माघ ६
गते नियन्त्रणमा लिएको थियो ।
चितवन जिल्लाको नारायणगढ, पुल्चोक भई राजमार्गमा चल्ने बस, मिनिबस, माईक्रोबस व्यवसायीका दलालहरू मार्फत नारायणगढ पुल्चोकमा डिउटीमा खटिएका प्रहरी कर्मचारीहरुले पैसा लिने गरेको भन्ने सुचनाको आधारमा प्रदेश कार्यालयबाट प्रहरी टोली त्यहाँ पुगेका थियो ।
निलम्बनमा परेका प्रहरीक कर्मचारीहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दार लोक बहादुर घर्ती, प्रहरी जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढ चितवनमा कार्यरत प्रहरी जवान पूर्ण सिंह रस्मी मगर रहेका छन् ।
निलम्बित प्रहरी कर्मचारीहरुको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक सुरेश प्रसाद काफ्लेको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली समेत गठन गरेको छ ।
आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्ने र गैह्र व्यवसायीक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई बागमती प्रदेश प्रहरीले बिशेष अभियानको रुपमा संचालन गरीरहेको छ ।
माघ ६ गतेकै दिन डिउटीमा खटिएको अवस्थामा यातायात व्यवसायीका दलालहरू मार्फत भरतपुर महानगरपालिका वडा नं.१ पुल्चोक स्थित कालीगण्डकी कोल्ड स्टोर (पान पसल) बाट अबैध रकम लिदै गरेको अवस्थामा पक्राउ गरिएको थियो ।
प्रहरीको नाममा पैसा उठाउने कार्यमा संलग्न ५ जना व्यक्तिहरु समेतलाई नियन्त्रणमा लिई बुधबार अभद्र व्यवहार अन्तर्गतको मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरिएको चौधरीले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।