८ माघ २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्याउन टिनका टिन तेल खर्च भएपनि सुधार्न नसकेको बताएका छन् । सुर्खेतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई गणतन्त्र विरोधीको समेत संज्ञा दिएका छन् । ‘गणतन्त्रको अपनत्व केपी ओलीले राख्न सक्दैनन् । केपी ओलीले गणतन्त्र जन्माएका होइनन् ।’ उनले भने, ‘गणतन्त्रबारे केपी ओलीले विरोध गरेका हुन कि होइनन् ? गणतन्त्रमा केही तत्वहरु सल्बलाइरहँदा उनी पनि विरोधी थिए ।’
संविधान घोषणा गर्ने बेलामा ओली तयार नभएका र संविधान जारी गर्दा सुशील कोइराला तयार भए पनि ओली तयार नभएका नेपालले आरोप लगाए ।
केपी ओलीमा सामूहिकताको भावना नभएको आरोप, गुटवादी प्रवृत्ति भएको र ओली कम्युनिस्ट हुन नसक्ने उनले बताए । उनले सधैं अरुलाई हेप्ने ठूलो ओहोदा पुगेर पनि केपी ओलीले न्याय दिने होइन बरु अत्याचार गरे ।
‘केपी ओलीलाई मैले नै प्रधानमन्त्रीलाई सिफारिस गरें। सुध्रिएलान भनेको अहिले पुर्पुरोमा हात लाउनुपर्ने भयो । बांगो कुकुरको पुच्छर सोझो पार्न टिनका टिन तोरीका तेल प्रयोग गरे पनि सोझिएनन् ।’ उनले भने, ‘सानो गुट चलाइरहेका र यही शासन गरेर बस्ने भ्रम पालेर बसेका छन् । संविधानको कुनै धारा उल्लेख नभएको कागज अदालतमा पुगेको र यसबाट संविधान अन्तर्गत प्रतिनिधिसभा विघटन गर्न पाइँदैन ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















