८ माघ २०७७
काठमाडौं । तामाङ समुदायका साझा सामाजिक संस्था नेपाल तामाङ घेदुङको संघीय महाधिवेशन आगामी चैत्र २७, २८ र २९ गते हुने भएको छ । गत माघ ३ गते अध्यक्ष मोहन गोले तामाङको अध्यक्षतामा बसेको जुम भर्चुअल विधिबाट बसेको आठौं बैठकले उक्त निर्णय गरेको हो ।
महाधिवेशन काठमाडौंमा गर्ने निर्णय भएको अध्यक्ष गोलेले तेमाल अनलाईनलाई जानकारी दिए । महाधिवेशन काठमाडौंमा गर्ने निर्णय भएको छ । यसको लागि यसअघि सम्पन्न सातौ सङ्घीय बैठकले तोके बमोजिमको जिम्मेवारी, मापदण्ड, आधार र दायित्व पूरा गर्नुपर्ने निर्णय गरेका छौं ।’ अध्यक्ष गोलेले भने, ‘महाधिवेशनको लागि २०७७ फागुन मसान्तभित्रमा प्रतिनिधि नाम दर्ता गरिसक्नु पर्ने निर्णय निर्णय गरेको छ ।’
ल्होछार आफ्नो सापेक्षतामा मनाउन आव्हान
साथै बैठकले तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व सोनाम ल्होछार–२८५७ (लाङ ल्हो) काठमाडौंको टुंडीखेलमा नमनाउने भएको छ । आफ्नो सापेक्षतामा ल्होछार मनाउन घेदुङले आव्हान गरेको छ । ‘संक्रामक रोग कोभिड–१९ को कारण काठमाडौंको टुँडिखेलमा विगतमा झैँ यस वर्ष सोनाम ल्होछार–२८५७ तथा तामाङ सांस्कृतिक महोत्सव भव्यताका साथ सञ्चालन गर्न नसकिने हुँदा सङ्घीय कार्यालयले भर्चुअल विधिबाट एक अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छौं ।’ अध्यक्ष गोलेले भने ।
प्रदेश, प्रवास, जिल्ला र स्थानीय समितिहरुले आफ्नो ठाउँको अनुकूलतामा भौतिक दूरी कायम गरी सार्वजनिक सांस्कृतिक समारोहको कार्यक्रमहरु आयोजना गर्न सक्ने, सोनाम ल्होछार पर्वको बिदा कटौती भएकोमा घेदुङको सबै समितिहरुले संघ, प्रदेश र स्थानीय सरकारलाई कम्तिमा तीन दिन बिदा दिनको लागि अनुरोध गर्ने, सबै तामाङ समुदायले सोनाम ल्होछार पर्वलाई प्रतिपदाको अघिल्लो दिनदेखि पञ्चमीसम्म आ–आफ्नो घर, गाउँमा निम्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाउने, घर, चौक, गुम्बा, बाटोघाटो सरसफाई, लिपपोत गर्नुका साथै शान्तिको लागि मणिमोलम गर्ने, लुङ्दर÷दज्र्यु फहराउने, जीवा ल्होको बिदाई र लाङ ल्होको स्वागत स्वरुप ल्होछार इभ (दिपावली) गर्ने, तामाङ भेषभूषामा कोम्हेन्दोको टीका, खादा लगाउने, आशिर्वाद लिनेदिने, तामाङ खानपीन खाने, आफन्त भेटघाट र तामाङ गीत, संगीतमा रमाइलो वातावरणमा पर्व सम्पन्न गर्ने निर्णय भएको गालेले जानकारी दिए ।
बैठकले ‘राष्ट्रिय जनगणना–२०७८ मा तामाङ जाति, तामाङ भाषा र बौद्ध धर्म लेखाऔ ! कोभिड–१९ को महामारीमा सोनाम ल्होछार–२८५७ घरघरमै भव्य रुपले मनाऔ !!’ भन्ने नारा समेत तय गरेको छ ।
जाति तामाङ र धर्म बौद्ध लेख्न आव्हान
प्रत्येक १०/१० वर्षमा गरिने राष्ट्रिय जनगणना आगामी २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म सम्पन्न गर्न केन्द्रीय तथ्याङ्क विभागले अन्तिम तयारी गरिरहेको हुँदा जातिमा तामाङ र धर्ममा बौद्ध लेख्न घेदुङले आव्हान गरेको छ ।
यसको लागि राष्ट्रिय जनगणना सम्बन्धी प्रदेश, जिल्ला, स्थानीय समितिहरुले वडा तहसम्म माथिको पाँचवटा प्रश्नबारे समुदायगत रुपमा सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । त्यसैगरि जनगणनाको बखत तामाङ वस्तीहरुमा प्रत्येक गणकको पछाडि एकजना घेदुङको स्वयंसेवक खटाउने र सम्भव भएसम्म त्यस अघि घरदैलो अभियान सञ्चालन गर्ने पनि जनाएको छ ।
मितिः २०७७/१०/०४
श्री नेपाल तामाङ घेदुङ
सङ्घीय सचिवालय तथा सदस्य ज्यूहरु ।
विषय: सं.का.स. बैठक परिपत्र – ८ ।
प्रस्तुत विषयमा नेपाल तामाङ घेदुङ सङ्घीय कार्य समितिको मिति २०७७ माघ ३ गते अध्यक्ष मोहन गोले तामाङको अध्यक्षतामा जुम भर्चुअल विधिबाट आठौं बैठक सम्पन्न भयो । बैठकमा उपस्थित सङ्घीय सदस्यहरुले प्रस्तुत प्रस्तावमाथि आफ्नो भनाई राख्नुभएको थियो । सङ्घीय सदस्य चथा सचिवालय सदस्यहरुबाट प्राप्त राय, सुझावको आधारमा बैठकले गरेको महत्वपूर्ण निम्न निर्णयहरु यसै परिपत्रद्वारा पठाइएको छ ।
सङ्घीय कार्य समितिले गरेका महत्वपूर्ण निर्णयहरु सङ्घीय सदस्य ज्यूहरुले जिल्लामा र अन्य संगठनहरुले आ–आफ्नो समितिमा छलफल चलाई यथासिघ्र कार्यान्वयन गर्नहुन र सो को जानकारी सङ्घीय कार्यालयमा पठाउन हुन समेत अनुरोध छ ।
१. महाधिवेशन सम्बन्धमा:–
कोभिड–१९ को कारण स्थगित हुन पुगेको नेपाल तामाङ घेदुङको नवौं संघीय महाधिवेशन आगामी मिति २०७७ चैत २७, २८ र २९ गते काठमाडौंमा सम्पन्न गर्ने र सो को लागि यसअघि सम्पन्न सातौ सङ्घीय बैठकले तोके बमोजिमको जिम्मेवारी, मापदण्ड, आधार र दायित्व पूरा गर्नुपर्ने निर्णय गरियो । साथै महाधिवेशनको लागि २०७७ फागुन मसान्तभित्रमा प्रतिनिधि नाम दर्ता गरिसक्नु पर्ने निर्णय गरियो ।
२. सोनाम ल्होछार–२८५७ सम्बन्धमा:–
तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व सोनाम ल्होछार–२८५७ (लाङ ल्हो) को सन्दर्भमा निम्न निर्णयहरु गरिएको छ:
(क) ल्होछारको निम्न स्लोगन हरेक कार्यक्रमको व्यानरमा अनिवार्य राख्ने:
राष्ट्रिय जनगणना–२०७८ मा तामाङ जाति, तामाङ भाषा र बौद्ध धर्म लेखाऔ !
कोभिड–१९ को महामारीमा सोनाम ल्होछार–२८५७ घरघरमै भव्य रुपले मनाऔ !!
(ख) संक्रामक रोग कोभिड–१९ को कारण काठमाडौंको टुँडिखेलमा विगतमा झैँ यस वर्ष सोनाम ल्होछार–२८५७ तथा तामाङ सांस्कृतिक महोत्सव भव्यताका साथ सञ्चालन गर्न नसकिने हुँदा सङ्घीय कार्यालयले भर्चुअल विधिबाट एक अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्ने ।
(ग) प्रदेश, प्रवास, जिल्ला र स्थानीय समितिहरुले आफ्नो ठाउँको अनुकूलतामा भौतिक दूरी कायम गरी सार्वजनिक सांस्कृतिक समारोहको कार्यक्रमहरु आयोजना गर्न सक्ने ।
(घ) सोनाम ल्होछार पर्वको बिदा कटौती भएकोमा घेदुङको सबै समितिहरुले संघ, प्रदेश र स्थानीय सरकारलाई कम्तिमा तीन दिन बिदा दिनको लागि अनुरोध गर्ने ।
(ङ) सबै तामाङ समुदायले सोनाम ल्होछार पर्वलाई प्रतिपदाको अघिल्लो दिनदेखि पञ्चमीसम्म आ–आफ्नो घर, गाउँमा निम्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाउने
-
घर, चौक, गुम्बा, बाटोघाटो सरसफाई, लिपपोत गर्नुका साथै शान्तिको लागि मणिमोलम गर्ने, लुङ्दर÷दज्र्यु फहराउने, जीवा ल्होको बिदाई र लाङ ल्होको स्वागत स्वरुप ल्होछार इभ (दिपावली) गर्ने ।
-
तामाङ भेषभूषामा कोम्हेन्दोको टीका, खादा लगाउने, आशिर्वाद लिनेदिने, तामाङ खानपीन खाने, आफन्त भेटघाट र तामाङ गीत, संगीतमा रमाइलो वातावरणमा पर्व सम्पन्न गर्ने ।
३. राष्ट्रिय जनगणना–२०७८ सम्बन्धमा:
प्रत्येक १०÷१० वर्षमा गरिने राष्ट्रिय जनगणना आगामी २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म सम्पन्न गर्न केन्द्रीय तथ्याङ्क विभागले अन्तिम तयारी गरिरहेको हुँदा तामाङ समुदायको वास्तविक तथ्याङ्क प्रकाशन गर्न, गराउन जनगणनालाई महाउत्सवको रुपमा लिँदै निम्न कार्यहरु गर्ने
-
जनगणनामा सोधिने ५ वटा प्रश्नहरुमध्ये (१) तपाईको जात, जाति के हो ः तामाङ, (२) तपाईको पूख्र्यौली भाषा कुन हो ः तामाङ, (३) तपाईको मातृभाषा कुन हो ः तामाङ, (४) तपाईको दोस्रो भाषा कुन हो ः छिमेकी जनजातिको मातृभाषा र (५) तपाई कुन धर्म मान्नु हुन्छ ः बौद्ध धर्म लेख्ने, लेख्न लगाउने ।
-
राष्ट्रिय जनगणना सम्बन्धी प्रदेश, जिल्ला, स्थानीय समितिहरुले वडा तहसम्म माथिको पाँचवटा प्रश्नबारे समुदायगत रुपमा सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने ।
-
जनगणनाको बखत तामाङ वस्तीहरुमा प्रत्येक गणकको पछाडि एकजना घेदुङको स्वयंसेवक खटाउने र सम्भव भएसम्म त्यस अघि घरदैलो अभियान सञ्चालन गर्ने ।
४. विविध:
(क) नेपाल तामाङ घेदुङले मञ्जुश्री सम्वत्मा आधारित चन्द्रपात्रो प्रकाशन गरी ची (पात्रो) हेर्ने विधिको बारेमा खेन्पो गुरु सोनाम ग्युर्मे तामाङ ज्युबाट प्रशिक्षण सञ्चालन गर्ने र तामाङको सबैखाले सामाजिक, धार्मिक, सांस्कृतिक कार्यको तिथिमिति चन्द्रपात्रो अनुसार गर्ने ।
(ख) तामाङ भेषभूषामा केही वर्षदेखि ज्यादै गरी बिकृति घुसेको कारण यसबाट तामाङको मौलिकता समाप्न हुनसक्ने देखिएकोले हरेक कार्यक्रममा सबै घेदुङका अभियन्ताले तामाङ संस्कार संस्कृति निर्देशिकामा उल्लेख भए अनुसारको भेषभूषा अनिवार्य लगाउने र अन्यलाई समेत सोही अनुसार अनुरोध गर्दै जाने ।
(ग) नेपाल तामाङ घेदुङको नवौ राष्ट्रिय महाधिवेशनको आवश्यक तयारीको सबै काम गर्न सङ्घीय कार्यालयलाई जिम्मेवारी दिइयो ।
…………………………………………………
महितकुमार तामाङ
महासचिव
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















