८ माघ २०७७
धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमका विरुद्ध नेपाली काँग्रेसले काभ्रेको १ सय ३५ वडामै प्रदर्शन गरेको छ । नेकपा अल्पमत पक्षका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले चालेको कदम प्रतिगमन हुनुको साथै असंवैधानिक भन्दै केन्द्रको योजना अनुसार आज सबै वडामा प्रदर्शन गरेको हो ।
काभ्रे जिल्लाका १३ स्थानिय तहका १ सय ३५ वडा कार्यलयहरुमा विरोध प्रदर्शन गरिएको जिल्ला सचिव दिनेश लामाले जानकारी दिए ।
यसैबीच जिल्लाको तेमाल गाउँपालिकाका सबै वडामा आज काँग्रेसले प्रदर्शन गरेको छ । तेमाल गाउँपालिका वडा नं. ७ का अध्यक्ष तथा तेमाल गाउँपालिकाका प्रवक्ता समेत रहेको पार्टी सभापति ज्ञानबहादुर लामाको नेतृत्वमा प्रदर्शन गरेको थियो । स्थानीय कार्यकर्ता र जनताको सहभागीता रहेको उक्त कार्यक्रमलाई पार्टी सभापति लामाले सम्बोधन गरेका थिए ।
बनेपा नगरपालिका वडा नं ९ मा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले सम्बोधन गरेका थिए ।
यस्तै विभिन्न स्थानहरुमा केन्द्रिय सदस्य तथा ट्रेड युनियन विभाग प्रमुख शिव हुमागाँई, तेमाल गाउँपालिका वडा नं ५ मा संविधान सभा सांसद तिर्थ लामा, जिल्ला सभापति मधु आचार्य, जिल्ला सचिव दिनेश लामा, पुर्व राज्य मन्त्रि कञ्चन चन्द्र वादे, प्रतिनिधि सभा क्षेत्र नं १ क का सभापति राम योञ्जज, ख का सभापति रमेश हुमागाँई र क्षेत्र नं २ क का सभापति एवं पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, ख का सभापति विदुर घिमिरेले सम्बोधन गरेका थिए ।
यस्तै रोशी गाउँपालिकाका अध्यक्ष डि.बि. लामा, नमोबुद्ध नगर सभापति कुन्साङ लामा, बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तिमल्सिना, तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङ, नगर तथा गाउँ सभापतिको उपस्थितीमा प्रदर्शन भएको थियो ।
प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै काँग्रेसले आज देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।