११ माघ २०७७
धुलिखेल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमत पक्षको गत ९ गते काठमाडौंमा विशाल जनप्रदर्शन र विराध सभा सम्पन्न भयो । त्यस दिन मञ्चमा भएको केही दृष्यमा सञ्चारकर्मीहरुको ध्यान गएको थियो ।
सो दृष्यमा संघर्ष समितिको संयोजक तथा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ निक्कै आक्रमक देखिन्थे । पार्टी अध्यक्ष माधवकुमार नेपालसम्मले सम्झाउनुपर्ने अवस्थाको सिर्जना भएको दृष्यले देखाइरहेको थियो । विभिन्न सञ्चार माध्यमहरुले विभिन्न अड्कलबाजी गर्दै समाचार संप्रेशन गर्यो ।
तर यसको विषयमा पार्टी प्रवक्ता एवं संघर्ष समितिका संयोजक श्रेष्ठले स्पष्टीकरण दिएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत यो विषयमा उनले स्पष्ट पारेका हुन् ।
पार्टी भित्र विधि पद्धतिको विषयमा बहस भइरहेकोले आफूले विधि र पद्धतिको कुरा गरेको बताएका छन् । विधि र पद्धतिसम्मत ढंगले अघि बढ्न ध्यानाकर्षण मात्र गराएको बताएका छन् ।
‘के.पी. ओलीजी सँगको शुरुदेखिको हाम्रो एउटा मुख्य मतभेद विधि र पद्धतिको पालनामा हो । अव हामीले पार्टी निर्माण र परिचालनमा प्रारम्भदेखि नै पद्धतिसम्मत ढंगले अघि बढ्न ध्यान दिनु पर्दछ । त्यसको निम्ति संघर्ष गर्नु पर्दछ । तव मात्र हामी आफ्नो प्रतिबध्दताप्रति इमान्दार हुन सक्दछौं र पार्टीलाई सही दिशामा अघि बढाउन सक्षम हुनेछौं ।’ उनले लेखेका छन्, ‘हाम्रो हिजोको कार्यक्रमको क्रममा मञ्चमा देखिएको विवाद यही बिषयमा हो । जुलुस परिक्रमा र सभा शुरु गर्ने सम्बन्धमा केन्द्रीय संघर्ष समितिले बनाएको पुर्व निर्धारित योजना संघर्ष समितिको जानाकारी बिना नै अकस्मात परिवर्तन गरियो । त्यसो गरिनु हुँदैन थियो ।’
त्यतिखेर नै नेतृत्वसँग गंभीर ध्यानाकार्षण गराउनुपर्ने भएकोले यसरी कुरा डठाएको उनले प्रष्ट पारेका छन् । ‘संस्थागत कार्य प्रणालीकोवारेमा सबै नेतृत्वदायी कमरेडहरुको गंभीर ध्यानाकर्षणका लागि त्यतिबेलानै जोडले कुरा उठाउनु जरुरी थियो ।’ उनले भनेका छन्, ‘विधि–पध्दतिको उपेक्षा र अवज्ञा हुन नपाओस भन्नेमा हामीले शुरुदेखि सशक्त संघर्ष गर्नु पर्दछ । ख्याल गरौं, हाम्रो अवको एउटा मुख्य चुनौति हिजो हामीले कुरा उठाए अनुसार बिधि पध्दति अनुसार पार्टी सञ्चालन गर्नु हो ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















