१३ माघ २०७७
तेमाल । तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व सोनाम ल्होछार–२८५७ (लाङ ल्हो)को अवसरमा काभ्रेको तेमाल गाउँपालिकाले ३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । गत पुष १७ गतेको कार्यपालिका बैठकले ३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
तेमाल गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडा अध्यक्ष ज्ञानबहादुर मोक्तानका अनुसार माघ २८, २९ र ३० गते सार्वनिक विदा दिने निर्णय भएको छ । यस अघि पनि गाउँपालिकाले ३ दिन सार्वजनिक विदा दिंदै आएको छ । ‘हामीले हाम्रो राष्ट्रिय साँस्कृतिक पर्व सोनाम ल्होछार–२८५७ (लाङ ल्हो)को अवसरमा ३ दिन सार्वजनिक विदा दिने निर्णय गरेका छौं ।’ प्रवक्ता तामाङले भने, ‘विगतको वर्षमा पनि हामीले ३ दिन नै विदा दिंदै आएका छौं । यसलाई निरन्तरता दिने बैठकले निर्णय गरेको छ ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेलले एक सूचना जारी गर्दै विदा दिने कार्यपालिकाको निर्णय सार्वजनिक गरेको छ ।
तेमालमा करिब ९० प्रतिशत तामाङ समुदायको बसोबास रहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















