१४ माघ २०७७
धुलिखेल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमतपक्षले काभ्रेको मण्डनदेउपुरमा बृहत विरोध सभाको आयोजना गरिएको छ । प्रधानमन्त्री केपी ओलीले चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश भएको भन्दै बहुमत पक्षले निरन्तर आन्दोलन गर्दै आएको छ ।
सोही क्रममा नेकपा मण्डनदेउपुर नगर कमिटिले आगामी माघ १७ गते मण्डनदेउपुर नगर कमिटिको आयोजनामा बृहत विरोध सभाको आयोजना गरिएको जिल्ला नेता निरन्जन विष्ट(दीप)ले जानकारी दिएका छन् ।
‘प्रतिनिधि सभा विघटन गरिएको असंवैधानिक कदमको सशक्त प्रतिरोध गरौं, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं ।’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सम्बोधन गर्ने नेता दीपले बताए ।
विरोध सभामा नगर भित्रका सबै वडाबाट नेता, कार्यकर्ता र जनताको सहभागीता रहने बताइएको छ । त्यसको तयारीका लागि विभिन्न वडाहरुमा तयारी बैठक भेला गर्ने क्रम जारी रहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















