१४ पौष २०७७
पनौती । काभ्रेको अग्रणीय सहकारी संस्था सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औं स्थापना दिवस भव्य रुपमा सम्पन्न भएको छ । काभ्रेको पनौती नगरपालिका वडा नं. ४, टौखालमा रहेको उक्त संस्थाको आज स्थापना दिवस मनाएको हो ।
प्रमुख अतिथिले पानसमा दिप प्रज्वलन गरि समुदघाटन गर्नु भएको कार्यक्रममा २७ औं स्थापना दिवसको प्रतिकको रुपमा २७ वटा दिप सम्पूर्ण अतिथिहरुबाट प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सामुदायिक साकोस जिल्लामा मात्र नभै देश र विदेशमा समेत उत्कृष्ट रहेको बताउँदैै एकिकरणको अभियानमा जिल्लामै अग्रणि भुमिका प्रस्तुत गरेको चर्चा गरे । ‘सहकार्य र सदस्य सेवामा स्थानिय स्तरमा नै सेवा प्रदान गर्दै उत्कृष्ट कार्यगर्न सफल भएकोकोमा बधाई दिन चाहन्छु ।’ अध्यक्ष काँडेलले भने, ‘संस्थाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन उल्लेख्य रहेको र हरेक वर्ष यसमा देखिएको वित्तिय तथा गैर वित्तिय प्रगतिका साथ आधुनिक प्रविधिहरुको प्रयोग गरि अझै उत्कृष्ट हुँदै जाओस र देशकै नमुना सहकारी बन्न सफलहोस् भन्ने शुभकामना सहित समेत दिन चाहन्छु ।’
कार्यक्रममा नेफ्स्कुन अध्यक्ष श्री परितोष पौडेल सम्मानित हुने सवैलाई बधाई दिनुहुँदै आगामि दिनहरुमा संस्थाको अझै विकास र विस्तारको लागि शुभकामना ब्यक्त गर्नुहुँदै मन्तब्य राख्नुभएको थियो ।
त्यसैगरि वागमती प्रदेश सहकारी संघ लि. का अध्यक्ष रामशरण शर्मा घिमिरेले संस्थाको योगदान प्रति आभार ब्यक्त गर्दै सामुदायिक साकोस जिल्लाकै सहकारीहरुमा गुणात्मक कार्य गर्न सफल सहकारी भएकोमा बधाइका साथ शुभकामना ब्यक्त गरे ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माले योजनाबद्ध रुपमा समुदाय तथा कृषक सदस्यहरुको हितका कार्यक्रमहरुलाई निरन्तरता दिँदै अगाडि बढ्न सफल रहोस भन्ने शुभकामना ब्यक्त गरे ।
प्यावसन काभ्रेका अध्यक्ष पूर्ण कुमार श्रेष्ठले संस्थाको स्थापनाको अवस्थाको स्मरण गर्दै यहि सहकारीमा प्रवेश गरेकै कारण विभिन्न तह र तप्कामा अवसर प्राप्त गर्न सकेको उल्लेख गर्दै सामुदायिकले समुदायको हितमा गरेको कार्य र योगदानको चर्चा गरे ।
कार्यक्रममा मन्तब्य राख्दै पनौती न.पा.का बरिष्ठ प्रसाशकिय अधिकृत तथा सहकारी रजिष्ट्रार इन्द्रप्रसाद अधिकारीले योजनाबद्ध रुपमा कार्य गर्दै आफ्नो कार्यक्षेत्र भित्र शेयर सदस्यहरुको भावना, चाहाना र सदस्यका आवश्यकता अनुरुपका गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेको यस संस्थाले सदस्य सन्तुष्टिलाई प्रमुखतामा राखि कार्य गर्दै आएकोले आफुलाई एक अब्वल संस्थाको रुपमा स्थापित गर्न सफल रहेको विचार ब्यक्त गरे । साथै अधिकारीलेसमयको रुपान्तरण र आवश्यकता अनु्रुपको नेतृत्व विकास गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरे ।
कार्यक्रमको समापनमा संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष प्रकाश बन्जाराले संस्थामा विभिन्न विधामा सम्मानित हुनेहरुलाई बधाई दिंदै यसले उत्कृष्टताको लागि उर्जा थपोस भन्ने कामना ब्यक्त गरे ।
संस्थाले सदस्य र समुदायको आर्थिक तथा सामाजिक स्तर उन्नतिमा योगदान गर्दै आएको र यस अभियानमा प्राप्त सल्लाह सुझावहरुलाई नीति र विधि अनुरुप लागूगर्दै जाने प्रतिबद्धता समेत जनाए । ‘सदस्यहरुको आर्थिक स्तर उकासि आत्मनिर्भर बनाउने अभियानमा स्थानिय तह, संघ र प्रदेशसँग समेत सहकार्य गरि अगाडि बढ्ने छौं । संस्था एकीकरण अभियान मार्फत एकै संस्था र एकै छानामुनि सवै प्रकारका बस्तु तथा सेवा प्रदान गर्ने अभियानमा हामी छौं ।’ अध्यक्ष बञ्जाराले भने, ‘संस्थालाई बृहत बनाउँदै नीति र विधिमा सञ्चालन गर्दै बृहत र सर्वोत्कृष्ट संस्था बनाउने अभियानलाई पूर्ण जिम्मेवारीका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’
स्थापना दिवस संस्थाका अध्यक्ष वन्जाराको सभाध्यक्षता एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष कंडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि. का सञ्चालक सदस्य डि.बी. बस्नेत, नेफ्स्कुनका अध्यक्ष परितोष पौडेल, वागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण शर्मा घिमिरे, वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष उद्घव सापकोटा विशिष्ट अतिथिको रुपमा उपस्थित रहेका थिए भने पनौती नगरपालिका उप प्रमुख गिता बन्जारा, वाग्मती प्रदेश बचत तथा ऋण सहकारी संस्था लि. का सञ्चालक कृष्ण प्रसाद तिमल्सिना, जिल्ला सहकारी संघ लि. काभ्रे का अध्यक्ष दिलिप शर्मा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना लगायत जिल्लाका सञ्चारकर्मीहरु, पनौती न.पा. वडा नं. ४ का अध्यक्ष बुद्धसिंह थापा, प्याब्सन काभ्रेका अध्यक्ष पूर्ण कुमार श्रेष्ठ, पनौती नगरपालिकाका सहकारी रजिष्ट्रार इन्द्र प्रसाद अधिकारी, पनौती प्रहरी चौकि प्रमुख अशोक महतो, पूर्व वार एशोसियसन काभ्रेका अध्यक्ष कृष्ण प्रसाद सापकोटा लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित सम्पूर्ण ब्यक्तित्वहरुलाई संस्थाका उपाध्यक्ष कुमार प्रसाद लामिछानेले संस्थाको २७ औ स्थापना मनाइरहँदा गौरवको महसुस भएको विचार ब्यक्त गर्दै कार्यक्रममा उपस्थित भएर कार्यक्रमको गरिमा बढाई दिएकोमा उपस्थित सवै प्रति कृतज्ञता ब्यक्त गर्दै संस्थाको तर्फवाट स्वागत गरेका थिए ।
संस्थाका लेखा तथा सुपरिवेक्षण समिति संयोजक हरि प्रसाद तिमल्सिनाले स्थापनाकालको अवस्था र स्थापनाको उद्देश्य देखि हालसम्मको अवस्था लागायत बारेमा जानकारी गराउँदै संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रदान गर्दै आएको वित्तिय तथा गैर वित्तिय सेवाहरु, संस्थामा प्रयोग भएका प्रविधि तथा प्रविधियुक्त सेवा र संस्थको संक्षिप्त वित्तिय अवस्था समेत जानकारी गराए ।
कार्यक्रममा बागमती प्रदेश सहकारी संघ लि., वागमती बचत तथा ऋण सहकारी संघ लि. तथा जिल्ला सहकारी संघ लि., काभ्रेपलाञ्चोकका नवनिर्वाचित सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिलाई सम्मान गर्दै कार्यकाल सफलताको शुभकामना ब्यक्त गरिएको थियो ।
स्थापना दिवसको अवसरमा संस्थाको स्थापना गरि संस्थालाई हालको अवस्थामा पुर्याउनको लागि महत्वपूर्ण भुमिका निर्वाह गर्नुहुने संस्थाका संस्थापक सदस्यहरु तथा पूर्व सञ्चालकहरुले अहोरात्र मेहनतका साथ संस्थाको वर्तमान अवस्थामा संस्था आईपुगेकोले योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
सम्मान नै सम्मान
कार्यक्रममा संस्थामा कारोवार गरिरहेका भएका सदस्यहरु मध्ये यस बर्षको उत्कृष्ट कारोवारकर्ता सदस्यहरुलाई कारोवारको आधारमा उत्कृष्ट बतचकर्ता मध्ये नियमित बचत तर्फ स.नंं ३४२४ का हरिसुन्दर श्रेष्ठ, कारोवार बचतमा सदस्य नंं १०४८० का सुदन श्रेष्ठ, विशेष बचतमा सदस्य नंं ३१२६ का विपिन सैजु, दैनिक बचतमा सदस्य नंं २७११ का नारायण थापा, खुत्रुके बचतमा सदस्य नंं ८४६१ की सलोनी तिमल्सिना, बाल बचतमा सदस्य नं. १५३०१ की आयुष्मा श्रेष्ठ, आवधिक बचतमा सदस्य नंं १६५९६ का विश्वनाथ बन्जारा, संक्रान्ती बचतमा सदस्य नं. १२४५६ की अनिता प्रजापती पुरस्कृत हुनु भएको थियो भने उत्कृष्ट शेयर खरिदकर्ताको रुपमा सदस्य नं. ०७० की प्रेम कुमारी तिमल्सिना, उत्कृष्ट ऋणी सदस्यमा सदस्य नंं. ३२६४ राजु तिमल्सिना पुरस्कृत भएका थिए ।
कार्यक्रममा कोभिड १९ को प्रभावको समयमा गुर्जो वितरण अभियानमा महत्वपूर्ण भुमिका निर्वाह गरेका युवा समाजसेवी एवं संस्थाका बनेपा सेवा केन्द्र सञ्चालन तथा ब्यवस्थापन उप समिति संयोजक सदस्य नं. १०३२९ का मुक्ति विष्टलाई सम्मान गरिएको थियो भने सहकारी एकीकरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएकोमा धुनिदेवी नमोबुद्ध सेवाकेन्द्रका सदस्य नंं ०२१८ का सञ्जिव ढकाल र सदस्य नंं ६२१ का गणेशप्रसाद तिमल्सिनालाई सम्मान गरिएको थियो ।
सम्मान कै क्रममा संस्थाको तर्फवाट एस.ई.ई. मा सदस्यका छोरा छोरी मध्ये उत्कृष्ट अंक हासिल गरि उतिर्ण हुनुभएका आशिष तिमल्सिना र प्रकाश तिमल्सिनालाई उत्कृष्ट एस.ई.ई. सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा यस वर्षको उत्कृष्ट सेवा केन्द्र तर्फ कुशादेवी सेवाकेन्द्र र उत्कृष्ट कर्मचारीको रुपमा रुपमा पनौती सेवा केन्द्र प्रमुख अनिता श्रेष्ठ वादेलाई पुरस्कृत गरिएको थियो ।
स्थापना दिवसको अवसरमा संस्था र नेपाल रेडक्रस सोसाइटी, काभ्रेको सहकार्यमा आयोजित रक्तदान कार्यक्रमा ३७ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।
संस्थाका सचिव मुकुन्द शर्माले सञ्चालन गरेको कार्यक्रममा संस्थाका प्रमुख सल्लाहाकार शम्भुलाल श्रेष्ठ, सल्लाहकार बीर बहादुर थापा, सञ्चालक समिति सदस्यहरु, उपसमितिका संयोजक तथा सदस्यहरु लगायत सेवाकेन्द्र सञ्चालन तथा ब्यवस्थापन उपसमिति संयोजक तथा सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















