१५ माघ २०७७
बनेपा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमत पक्षका युवा–विद्यार्थीले भोलि (माघ १६) गते बृहत भेलाको आयोजना गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा बहुमत पक्षले गर्दै आएको आन्दोलनलाई थप प्रभावकारी बनाउन भेलाको आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्न नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्मा बनेपा आउने भएको छ । शर्मासँगै राष्ट्रिय युवा संघ, नेपालका केन्द्रिय संयोजक रामप्रसाद सापकोटा, नेकपाका केन्द्रिय सदस्य रचना खड्का, अनेरास्ववियूका केन्द्रिय सह–संयोजक रञ्जित लामा, राष्ट्रिय युवा संघ, नेपालका केन्द्रिय सदस्यहरु क्रान्ति बुर्लाकोटी र संदेश पराजुलीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ ।
पार्टी अनौपचारिक रुपमा विभाजन भएसँगै देशै भरि छुट्टाछुट्टै कार्यक्रम गर्दै आएको छ । प्रधानमन्त्रीले चालेको कतम निरंकुश, असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै बहुमत पक्ष आन्दोलनमा छ ।
सोही अनुसार काभ्रेमा युवा विद्यार्थी बृहत भेलाको आयोजना गरिएको राष्ट्रिय युवा संघ, नेपालका केन्द्रिय सदस्य भेषराज शाहले जानकारी दिए । प्रत्येक काभ्रे जिल्लाको सबै स्थानीय तबका प्रत्येक वडाबाट युवा विद्यार्थीहरु सहभागी रहने उनले बताए ।
‘हामीले कम्तीमा २५ सय जना युवा विद्यार्थी भेला गर्दै छौं । आम युवा विद्यार्थीहरुले वर्तमान प्रधानमन्त्री केपी ओलीले चालेको कदमको विरुद्ध आवाज उठाउन जरुरी छ ।’ केन्द्रिय सदस्य शाहले भने, ‘शसक्त युवा परिचालन गरेर हामीले आन्दोलनलाई थप उचाईमा पु¥याउन यो बृहत भेला गरेका छौं ।’
उनका अनुसार पार्टीको जनवर्गीय संगठनको एकता प्रक्रिया अब चाँडै टुंग्याने समेत बताए । कार्यक्रममा सम्पूर्ण युवा विद्यार्थीहरुलाई सहभागीताको लागि अनुरोध समेत गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















