१५ माघ २०७७
काठमाडौं । नेपालमा सन् २०२० मा भ्रष्टचार थप बढेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) द्वारा बिहीबार संसारभर सार्वजनिक गरिएको २०२० भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल ११७औं स्थानमा छ।
‘सिपिआई (भ्रष्टाचार अवधारणा सूचकांक) २०२० मा नेपाललाई १०० मा ३३ अङ्क (११७ औं स्थान) दिइएको छ। गतवर्ष यस सूचीमा नेपालको अंक ३४ (११३ औं स्थान) रहेको थियो। यसले नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको देखाएको छ ।’ ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्टाचार रहेको जनाउँछ। यस वर्षको सूचकांकमा समावेश १८० देशमध्ये डेनमार्क र न्युजिल्यान्डले कुल १०० मा ८८ अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका र साउथ सुडान र सोमालिया १२ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको भनाइ छ।
सिपिआई २०२० मा दुईतिहाई मुलुकले ५० भन्दा कम अंक (स्कोर) पाएका छन् र यस वर्षको औसत स्कोर ४३ रहेको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















