१५ माघ २०७७
बनेपा । कृषि तथा पशुपंक्षि मन्त्री पद्मा अर्याललाई काभ्रेमा कालो झण्डा देखाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमत पक्षका महिला संगठन अखिल नेपाल महिला संघले मन्त्री अर्याललाई कालो झण्डा देखाएका हुन् ।
प्रधानमन्त्री एवं नेकपा अल्पमत पक्षका अध्यक्ष केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमका विरुद्ध मन्त्री अर्याललाई कालो झण्डा देखाएको अनेमसंघ, काभ्रेका अध्यक्ष उषा अर्यालले जानकारी दिए । ओली पक्षको अनेमासंघ, काभ्रेको जिल्ला भेलालाई सम्बोधन गर्न अर्याल काभ्रे आएका थिए ।
कालो झण्डा देखाउँदै महिलाहरुले ‘म्यादी मन्त्री मूर्दावाद’, ‘केपी ओली मूर्दावाद’, ‘सरकारले चालेको असंवैधानिक कदम खारेज गर’, ‘७० करोड भ्रष्टचारको सत्यतथ्य छानविन गर’ लगायतका नारा लगाएका थिए ।
मन्त्री अर्याल काभ्रे आउने भएपछि बनेपाको चोक–चोकमा शसस्त्र प्रहरी र जनपद प्रहरी परिचालन गरेको थियो । प्रहरी परिचालन गरेपनि महिलाहरुले मन्त्री अर्याललाई कालो झण्डा देखाएका थिए । कालो झण्डाको सामना गरेकी अर्यालको गाडी तीब्र गतिमा कुदाएका थिए ।
बनेपाको तीन दोबाटो देखि चाँदनी चोक र चारदोबाटोसम्म महिलाहरु कालो झण्डा बोकेर बसेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।