१५ माघ २०७७
धुलिखेल । महामारी रोग कोरोना भाइरस विरुद्धको खोप ‘कोभिडशिल्ड’ काभ्रेमा आज ४ सय १८ जनाले लगाएका छन् । काभ्रेको धुलिखेल सामुदायिक अस्पतालबाट कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले जनाएका छन् ।
हिजो बुधबारबाट कोरोना भाइरस विरुद्धको खोप लगाउन थालिएको थियो । काभ्रेमा कोरोना रोगको नियन्त्रणका लागि फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाईकर्मी लगायतलाई पहिलो प्रथाकितामा राखी खोप दिइएको छ । कोरोना रोग नियन्त्रणका लागि काभ्रेमा ३ हजार ५ सय ८१ जनालाई धुलिखेल अस्पताल र नमोवुद्ध नगरापालिकाको भकुण्डेमा रहेको मेथिनकोट अस्पतालबाट दिइने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख झाले बताएका छन् ।
यसैबीच काभ्रेमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट १ जना महिला र पनौती नगरपालिकाबाट २ जना पुरुष रहेका छन् । काभ्रेमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३३ सय ३१ पुगेको छ । आज ४ जना उपचारपछि कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । काभ्रेमा अहिले १२ जना महिला र १२ जना पुरुष गरि २४ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । काभ्रेमा कोरोनाबाट ४५ जनाले ज्यान गुमाइसकेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















