१६ माघ २०७७
बनेपा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमत पक्षका युवा विद्यार्थीहरुको आज बनेपामा बृहत भेला सम्पन्न भएको छ । प्रधानमन्त्री केपी ओलीले संसद विघटनलाई असंवैधानिक कदम भन्दै आन्दोलनमा उत्रेका युवा विद्यार्थीहरुले आज बृहत भेलाको आयोजना गरेको हो ।
बृहत भेला हुनु अघि बनेपामा युवा विद्यार्थीहरुले मोटरसाईकल र्याली सहितको विशाल प्रदर्शन गरेको छ । र्यालीमा ओलि पक्ष (अल्पमत)का केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाको विरुद्ध सडकमा नारा घन्केको छ । ७० करोड घुसको वार्गेनीङ गरेका बाँस्कोटा विरुद्ध युवा विद्यार्थीहरुले पहिलो पटक सडकमै उनको विरुद्ध नारा घण्काएका हुन् ।

‘७० करोड कहाँ छ, गोकुलेलाई थाहा छ’ भन्दै युवा विद्यार्थीहरुले नारा लगाएका थिए । त्यसैगरि ‘केपी चोर देश छोड’, केपी तिम्रो पाराले दुःख पाए साराले, असंवैधानिक कदम खारेज गर, लगायतका नारा लगाएका थिए ।

प्रदर्शनमा नेकपा (बहुमत पक्ष)का प्रदेश कमिटी सचिवालय सदस्यहरु सूर्यमान दोङ, दिननाथ गौतम (प्रयास), गंगाबहादुर तामाङ, तेजबहादुर मिजार, पार्टी प्रदेश सदस्य समेत रहेका प्रदेश सांसदहरु रत्न ढकाल, बसुन्धारा हुमागाईं, लक्ष्मण लम्साल, जिल्ला पार्टीका अध्यक्ष रुकु चौंलागाई, सचिव टोकबहादुर वाईबा, लगायत पार्टीका जिल्ला नेताहरु, युवा विद्यार्थीका केन्द्र देखि जिल्ला तह सम्मका नेताहरु र सयौंको संख्यामा युवा विद्यार्थीहरुको सहभागीता रहेका थिए ।

प्रदर्शन पुलबजारमा रहेको पञ्चकन्या बैंकेटबाट शुरु भई प्राधिकरण चोक, गणशथान चोक हुँदै चारदोबाटोमा निस्केर मुख्य सडक हुँदै पुनः पञ्चकन्या बैंकेटमा पुगेर भेलामा परिणत भएको थियो ।
कार्यक्रममा विभिन्न स्थानीय तहबाट युवा विद्यार्थीहरु उल्लेख्य सहभागी भएका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















