१७ माघ २०७७
काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमत पक्षका वागमती प्रदेश कमिटी सदस्य एवं प्रदेश सांसद बसुन्धारा हुमागाईंले पूर्व मन्त्री एवं नेकपा अल्पमत पक्षका केन्द्रिय सदस्य गुकुल बाँस्कोटाको नाम लिन नचाहेको बताएका छन् । शनिबार काभ्रेको नेकपा मण्डदेउपुर नगर कमिटीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै सांसद हुमागाईंले बाँस्कोटले फटाहा बोल्दै हिंड्ने गरेकोले उनको नाम लिन नचाहेको बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै हुमागईंले यो क्षेत्रको विकास आफूले मात्र गरेको भन्दै जनतासँग फटाहा कुरा गर्दै हिंडेको बताए ।
‘म उहाँको नाम लिनै चाहन्न । एकजना फटाहा बोल्ने मान्छेको नाम लिन्न म । हिजो हामी सबै सँगै थियौं ।’ उनले भने, ‘यहाँ गरेको सबै विकास मैले गरेको हुँ । नगरेको त टोकबहादुरले, बसुन्धाराले अनि लक्ष्मणले । भन्दै हिंडेका छन् । तपाईंहरुसँग यहीं भन्दै हिंडेको होइन त ? त्यो कुरा बाहेक अरु कुरा भन्नु भएको छ ?’
हुमागाईंले बाँस्कोटा अचेल पद, जागिर बाँड्दै हिंडेको तर हालसम्म कति जनालाई जागिर दिए भन्दै प्रश्न गरे ।
‘एउटा वडामा १० जनालाई छुट्टा छुट्टै बोलाएर वडा अध्यक्षको टिक दिएको सुनेको छु । जिल्ला सदस्य पनि दिंदै हिंडेको सुनेको छु ।’ उनले भने, ‘जागिर दिने आश्वासन दिंदै हिंडेको पनि सुनेका छौं । आजसम्म कति जनालाई उनले जागिर दिए ? यो नक्कली कुरामा तपाईंहरु नपत्याउनुहोस् ।’
केपीको अपराधको पछि लाग्न सकिन
कार्यक्रमलाई सम्बोन गर्दै सांसद हुमागईंले आफू केपी ओलीको अपराधको पछि लाग्न नसकेकोले जनतासँगै आन्दोलनमा आएको प्रष्ट पारे । ‘म पार्टीको बनेपामा भएको पहिलो औपचारिक कार्यक्रममा सहभागी भएँ । म समूहका हिसावले हिजो केपी ओलीको समूहमा थिएँ । यो साँचो हो ।’ हुमागाईंले भने, ‘तर केपी ओलीले गरेको सबै अपराधहरुको पछि लाग्नु पर्छ भन्ने छैन । त्यस कारण म त्यो अपराधको विरुद्धमा तपाईहरुसँग आन्दोलनमा आएको हुँ ।’
आफू कुनै पद र प्रतिष्ठाको लागि आन्दोलनमा नआएको बताउँदै तानाशाहका विरद्ध लड्न सडकमा आएको बताए । उनले भने, ‘म कुनै पद प्रतिष्ठाको लागि यहाँ आएको पनि होइन, म तानाशाहहरुको विरुद्धमा लड्न आएको हुँ । पार्टी भित्रको होस या बाहिरको होस, म त्यसको विरुद्ध लड्न आएको हुँ ।’
त्यसैगरि माधव नेपाल र प्रचण्डले नेतृत्व गरेको नेकपा मात्र आधिकारीक पार्टी भएकोले सूर्य चिन्ह पनि आफूहरुको भएको दावी गरे । उनले भने, ‘तपाईंहरु ढुक्क हुनुहोस्, जता दुई तिहाई बहुमत छ, त्यतैको हो सूर्य चिन्ह । निश्चिन्त हुनुहोस् ।’

Comments

comments