१९ माघ २०७७
बनेपा । नेपाली काँग्रेसका भातृसंगठनहरुले आज काभ्रेमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरुद्धको दोस्रो चरणको आन्दोलनको क्रममा आज काँग्रेस भतृसंगठनहरुले विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनको नेतृत्व नेपाल तरुण दल, काभ्रेले गरेको थियो । नेपाल तरुण दल काभ्रेका सभापति दावा लामाको नेतृत्वमा उक्त प्रदर्शन भएको थियो । प्रदर्शनमा सभापति लामाको नेतृत्वमा ५ सय भन्दा बढी मोटर साईकलमा तरुण दलका नेता कार्यकर्ताहरुको सहभागीता थिए ।

काँग्रेस जिल्ला पार्टी कार्यालय बनेपाको गोदमचोकबाट शुरु भएको जुलुस चारदोबाटो हुँदै तीन दोबाटोमा पुगेर विरोध सभामा परिणत भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्न नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारी बनेपा आएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य भण्डारीले अदालतले जुनसुकै फैसला गरेपनि नेपाली काँग्रेसले मान्ने बताए ।

आफ्नो पार्टी भित्रको अन्तरविरोधका कारण संसद विघटन गर्नु दुर्भाग्य भएको उनले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईंले ओलीको कदमका विरोध गरेका थिए ।
मञ्चबाटै सभापति आचार्यले लगाएका यस्तो नारा
यसैबीच नेपाली काँग्रेस काभ्रेका सभापति मधु आर्चायले मन्चबाटै केपी ओलीको पारा र सनकले नेपाली जनताले दुःख पाएको बताउँदै नारा समेत लगाएका थिए । ‘केपी तिम्रो पाराले दुःख पायो साराले, केपि तिम्रो सनकले दुख पायो साराले ।’ नारा लगाउँदै सभापति आचार्यले भने, ‘केपि तिम्रो कदमले सवै क्षेत्र र बर्गले दुख पाएको छ ।’

प्रधानमन्त्री ओलीलाई संसद विघटन गर्ने अधिकार नभएको बताउँदै आचार्यले यहीं कुरा जनतालाई बताउन प्रदर्शन गरेको प्रष्ट पारे । ‘कांग्रेसले तपाईंहरुलाई बताउन आएको कुरा के हो भने प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार दिएको छैन ।’ उनले भने, ‘ओलीले संसद मात्र विघटन गरेको होइन, यतिखेर उनले संविधान नै विघटन गरेको हो ।’
उनले गरिखाने पार्टी काँग्रेस भएको बताउँदै बोली खानेको पछि लागेकोले नेपाली जनताले दुःख पाएको बताए । ‘यहाँ दुई थरीका पार्टी छन्, एउटा बोली खाने पार्टी र अर्को गरिखाने पार्टी ।’ उनले भने, ‘बोलिखाने पार्टीको पछि लाग्दा नेपाली जनताले दुःख पाएका छन् । नेपाली काँग्रेस गरिखाने पार्टी हो ।’
काँग्रेस दुवै अवस्थाको लागि तयार
नेपाली काँग्रेसका नेता गगन थापाले ‘लड्डु काँग्रेस’ चर्चा गरिरहेको बेला काभ्रेमा पनि ‘लड्डु काँग्रेस’ले बोलेको छ ।
संविधान सभा सदस्य ललिता किङरिङले संसद पूनस्थापना भएपनि र निर्वाचनमा जानुपरेपनि काँग्रेस तयार रहेको बताएकी छिन् । यो प्रबृत्तिलाई गगन थापाले लड्डु काँग्रेसको संज्ञा दिएका थिए । किङरिङले सरकारसँग कि तोकेको मितिमा चुनाब गर्न कि संसद पुस्स्थापना गर्न अनुरोध गरे । ‘उनले भनिन्ः ‘मी दुबै मा सहयोग गर्न तयार छौ ।’

यसैबीच संविधानसभा सदस्यहरु तिर्थ लामा र कञ्चनचन्द्र बादेले पनि तोकेको मितिमा चुनाब गर्न कि संसद पुस्स्थापना गर्न अनुरोध गरे ।
संविधानसभा सदस्य बादेले कम्युनिष्टहरु जंगल, सडक र सत्तामा भएकोले लोकतन्त्रको हत्या भएको दावी गरे । ‘आज लोकतन्त्रको हत्या भएको छ । जंगल सडक र सत्तामा कम्युनिस्ट आइरहेको छ ।’ वादेले भने । अदालतले पुनस्थापना गरेन भने चुनाबमा जान तयार हुनुपर्नेमा वादेले जोड दिए ।

यसैबीच तरुण दल काभ्रेका सभापति लामाले कार्यक्रम समापन गर्दै केपी ओलीले चालेको कदम असंवैधानिक मात्र होइन, अलोकतान्त्रि समेत भएकोले तरुण दललाई यो मान्य नहुने बताए । ‘केपी ओलीको कदम तानाशाही कदम हो । संविधानको विरुद्ध हो ।’ लामाले भने, ‘अब हामी लोकतान्त्रिक युवाहरु चुप लागेर बस्ने छैनौं । निरन्तर संघर्षमा जान्छौं ।’

कार्यक्रममा जिल्ला सचिव दिनेस लामा, पार्टीका पूर्व सभापति इन्द्रमणि अधिकारी, विभिन्न संगठनका प्रमुखहरुले सम्बोधन गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















