२० माघ २०७७
हेटौँडा । बागमती प्रदेश सभा बैठकको माग गर्दै सांसदहरू नाराबाजीमा उत्रिएका छन् । सोमबार दिउँसो दुई बजेका लागि बोलाइएको बैठक आइतबार साँझ मात्रै विशेष कारण भन्दै स्थगित गरेपछि मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–नेपाल समूहका सांसद प्रदेश सभा परिसरमै नाराबाजीमा उत्रिएका हुन् ।
प्रचण्ड–नेपाल समूहका सांसदहरूले अल्पमतमा रहेको मुख्यमन्त्री पौडेलले राजीनामा दिनुपर्ने, तत्काल प्रदेश सभाको बैठक बोलाउनुपर्ने माग राख्दै नाराबाजी गरेका थिए । उनीहरूले प्रदेश सभा सुचारु गर, अल्पमतको सरकार मुर्दावाद, असंवैधानिक प्रतिगमन मुर्दावादलगायत नारा लगाएका थिए ।
अविश्वासको प्रस्ताव दर्ता भएको र प्रदेश सभामा पेस भइसकेको अवस्थामा बैठक स्थगित गरेर सभामुखले सरकारलाई सहयोग गरेको प्रचण्ड–नेपाल समूहका सांसदहरूले आरोप लगाएका छन् । सरकार अल्पमतमा रहेको अवस्थामा विश्वासको मत लिनुपर्ने वातावरण सभामुखले तयार गर्नबाट पन्छिँदै बैठक स्थगित गरेर सरकारलाई सहयोग गरेको सांसद अष्टलक्ष्मी शाक्यले आरोप लगाइन् । ‘अविश्वासको प्रस्ताव प्रदेश सभामा पेस भइसकेको अवस्थामा बैठक स्थगित गर्नु सभामुखको पदविपरीतको कार्य हो,’ उनले भनिन् । १९ माघ २ बजे बोलाइएको प्रदेश सभाको बैठक आगामी ५ फागुन दिनको २ बजे बस्ने गरी प्रदेश सभा सचिवालयले सूचना जारी गरेको छ । मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने गरी बैठक बोलाइएको भए पनि आइतबार राति बैठक स्थगित भएको सूचना जारी गरिएको थियो ।
प्रदेश सभा बैठक स्थगित गरेकोमा सभामुख सानुकुमार श्रेष्ठप्रति असन्तुष्टि पोखे । नेकपा प्रचण्ड–नेपाल समूह बागमती प्रदेश संसदीय दल नेता अष्टलक्ष्मी शाक्यले सभामुख सानुकुमार श्रेष्ठले आफ्नो पद नै धरापमा राखेर सरकारलाई सहयोग गरिरहेको आरोप लगाएकी छिन् । प्रदेश सभा सचिवालयमा प्रचण्ड–नेपाल समूहले पत्रकार सम्मेलन गर्दै प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता र पेस भइसकेको त्यस विषयलाई टुंग्याउनुपर्ने जिम्मेवारीबाट सभामुख पन्छिएको आरोप लगाएको छ । नेकपा संसदीय दलका उपनेता शालिकराम जमकट्टेलले पत्रकार सम्मेलनमा बोल्दै अल्पमतमा रहेको सरकारविरुद्ध प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल एकै स्थानमा उभिन आग्रह गरे ।
१० पुसमा प्रधानमन्त्री ओली समूहका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गरेपछि ७ माघमा प्रदेश सभाको बैठक बोलाइएको थियो । ७ र ९ माघमा सञ्चालन भएको प्रदेश सभा बैठक १९ माघसम्मका लागि स्थगित गरिएको थियो । ९ माघमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेस गरिएसँगै १९ माघसम्मका लागि बैठक स्थगित गरिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















