२१ माघ २०७७
धुलिखेल । संसद विघटन गरेर निर्वाचनको घोषणा गरेको वर्तमान काम चलाउन सरकारले सबै जिल्लामा भूमिसम्बन्धि समस्या समाधान आयोग गठन गरेको छ । काभ्रेमा पनि रामकृष्ण हुमागाईंको अध्यक्षतामा गठन भएको छ ।
७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन काम चलाउ सरकारले जिल्ला समिति गठन गरेको हो । काभ्रेमा हुमागईंको नेतृत्वमा ३ सदस्यीय समिती चयन गरेकोमा विज्ञ सदस्यमा जेनिश लामा र सदस्यमा अम्बिका हमाल मनोनित भएका छन् ।
गठनसँगै नेकपा (ओली पक्ष) काभ्रेमा विवाद चुलिएको छ । साविक एमालेका जिल्ला उपसचिव तथा काभ्रेको प्रभावशाली मानिएका नेता इन्द्र तामाङको चर्चा निक्कै भएपनि उनलाई अध्यक्ष नबनाएपछि विवाद चुलिएको हो । नेता तामाङ केही वर्ष अघि गठन भएका आयोगको अध्यक्ष चयन भएपनि काम नै गर्न नपाइ विघटन भएको थियो ।
नेकपा केन्द्रिय सदस्य गोकुल बाँस्कोटाको विश्वास यो पटक नेता तामाङले जित्न नसकेकोले उनले अध्यक्ष नपाएको स्रोतले बताएका छन् । यस अघि आयोगको अध्यक्षमा तामाङको चर्चा निक्कै चलेको थियो । सदस्यमा पूर्व माओवादी केन्द्रकी जिल्ला सदस्य रिता ढकालको चर्चा चलेको थियो । उनी अहिले बाँस्कोटाको एकदमै विश्वासी पात्र हुन् । उनलाई बाँस्कोटाले राज्यमन्त्री बनाइदिन्छु भनेर ओली क्याम्पमा लगेको चर्चा पनि काभ्रेमा छ । त्यसैले आयोगमा उनले आफ्नो दावी छोडेकी हुन् ।
अन्तिम समयसम्म पनि आफू नै हुन्छु भन्नेमा पूर्व एमालेका उपसचिव समेत रहेका तामाङ ढुक्क थिए । हुमागाईंलाई अध्यक्ष नियुक्ति गरेपछि तामाङ ‘हेर्याहेरै’को अवस्थामा पुगेको छ ।
एकातिर पार्टी विभाजनमा जाँदा आफूभन्दा जुनियर कार्यकर्तालाई केन्द्रिय सदस्य बनाउनु र अर्को तर्फ आफूले पाउने निश्चित भएको आयोगको अध्यक्ष पनि नपाएपछि तामाङ तनाबमा छ । ‘बाँस्कोटाले आफूसँग टक्कर लिन सक्ने तामाङ समुदायको नेतालाई निषेध गर्दै आएकोले यो पटक इन्द्र तामाङ त्यसको शिकार भएको’ चर्चा पनि चलेको छ ।
आयोगको अध्यक्ष नियुक्ति पाएका हुमागाईंले यो पटक गोकुल बाँस्कोटाको विस्वास जित्न सफल भएको छ । प्रदेशसभाको निर्वाचनमा टिकट दावी गरेका हुमागाईं टिकट नपाएपछि बाँस्कोटासँग रुष्ट थिए । उनलाई फकाउन र आफ्नै पंक्तिमा राखिराख्न अध्यक्ष बनाएको बुझिएको छ ।
यता विज्ञको रुपमा नियुक्ति पाएका जेनिस लामा भने विवाद रहित देखिन्छ । तामाङ समुदायको कार्यकर्तालाई थमथमाउन लामालाई विज्ञ सदस्य बनाएपनि विवाद भने बाहिर आएको छैन । उनको विषयमा कुनै विवाद नभएको बुझिएको छ ।
जागिर र पद दिएर जोगाएको कार्यकर्ताहरुमा भने निरास नै छाएको छ । जागिर र पदको प्रलोभनमा पारेका कार्यकर्ताहरुले दुर्व चीज नेता बाँस्कोटाको अति विश्वासी पात्रले मात्र पाउन थालेपछि कार्यकर्ता निराश बनेका छन् । ‘यहीं अवस्था रहिरहे एकदिन हामी देखाई दिनेछौं ।’ एक कार्यकर्ताले भने, ‘संगठनको मातहतमा व्यक्ति रहनुपर्ने हाम्रो पार्टी पद्धति कतिन्जेल तोड्दो रहेछ हामी हेरिरहेका छौं । एकदिन विद्रोह हुँदा थाहा पाउनेछ ।’
बाँस्कोटा भने कार्यकर्ताहरुलाई फकाउँदे हिंडीरहेका छन् । ‘माथि बा हुनुहुन्छ, तल म दाई छँदैछ ।’ बाँस्कोटाको भनाई उदृत गर्दै एक कार्यकर्ताले भने, ‘केही समय लाग्छ, पछि सबै सोचकै जस्तो हुन्छ ।’
भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा १५ गतेको मन्त्रिपरिषद बैठकले ७७ जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको हो । ७७ जिल्ला अध्यक्ष र २ सदस्य गरी ७७ जिल्लामा २३१ जना जिल्ला समितिका पदाधिकारी सरकारले नियुक्त गरेको हो । भूमि सम्बन्धी समस्या समाधान आयोगको अध्यक्ष देवी ज्ञवाली छन् । आयोगका जिल्ला पदाधिकारीको शपथग्रहण माघ २४ गते आयोगका अध्यक्ष देवी ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गराउने कार्यक्रम तय भएको छ ।
आयोगका पदाधिकारीको नियुक्तिको सूचना सोमवार साँझै राजपत्रमा प्रकाशित भएको छ । आयोगका अध्यक्षले नेपाल सरकारको प्रथम श्रेणी सहसचिव सरहको र सदस्यले द्वितीय श्रेणी उपसचिव सरहको सेवा सुविधा पाउने आयोगले जानकारी दिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















