२५ माघ २०७७
बनेपा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमत पक्षका केन्द्रिय सदस्य तथा वागमती प्रदेश सह-इन्चार्ज हितबहादुर तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमको पक्षमा उनको सानो गुट मात्र पक्षमा रहेको बताएका छन् । नेकपा काभ्रेको जिल्ला संघर्ष समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता तामाङले उक्त कुरा बताएका हुन् ।
‘संसद विघटनको विरुद्ध सिंगो देश केपि ओलिको बिरुद्धमा छ । नेपालका सबै राजनीतिक दल प्रतिगामी कदमको विरद्धमा छ ।’ तामाङले भने, ‘राजावादीहरु र ओलीको सानो गुट मात्र प्रतिगमणको पक्षमा छ ।’
उनले संविधान पाउनु मात्र उपलब्धि नभएको बताउँदै यसको रक्षा र कार्यन्वयन मुख्यकुरा रहेको स्पष्ट पारे । ‘संविधान पाउनु मात्र ठूलो कुरा होइन, राजनीतिक उपलब्धि प्राप्त गर्नु मात्र पनि ठूलो कुरा होइन ।’ उनले भने, ‘उपलब्धिको रक्षा, संविधानको रक्षा, कार्यान्वयन गर्नु मुख्य कुरा हो ।’
सामान्य स्थितिबाट पार्टी एकता नभएको बताउँदै झलनाथ खनाल, माधव नेपाल र प्रचण्डले त्याग गर्न तयार भएपछि एकता भएको बताउँदैसाझा बुझाइ र त्यागबाट मात्रै एकता सम्भव भएको कुरा ओलीले विर्सेको आरोप लगाए ।
ओलीले पार्टी कमिटिलाई नमानेकोले आजको अवस्था आएको बताए । ‘ओलीले पार्टी कमिटिलाई मानेनन्, पार्टीको निणर्य मानेनन्, आफैले गरेको निणर्यमा समेत सहि गरेनन् ।’ नेता तामाङले भने, ‘पार्टी भित्र आजको अवस्था आउनुमा मुख्य दोषि ओली नै हो । उनको सर्वसत्तावाद र तानाशाही प्रबृत्तिले आज व्यवस्था नै संकटमा परेको छ ।’
उनले पार्टीको आयोजनामा हुने माघ २८ को विरोध प्रदर्शनमा काभ्रेबाट उल्लेख्य संख्यामा जनता सहभागी गराउन कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।