१ फाल्गुन २०७७, शनिबार
काठमाडौं। जनयुद्ध दिवसकै दिन अध्यक्ष प्रचण्डको हातबाट टीका लगाएर बिहे गर्ने सपना साँचेका एक जोडीको आज प्रगतिशील विवाह सम्पन्न भएको छ। नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय एक जोडीले लामो समयदेखि रहेको प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गर्न सफल भएका हुन।
यतिमात्र होइन, यो जोडीले जातीय विभेदको बलियो पर्खाल समेत तोड्न सफल भएका छन् । जातभातको बेसी नै संरक्षण भएको सुदूरपश्चिममा फरक जातबीच मागी त के भागी विवाह समेत स्वीकार्य छैन। यो परिस्थितिमा उनीहरुले भने विभेदको पर्खाल तोडे र एउटा उदाहरणीय पहल लिन सफल भए ।

शनिबार नेकपा मुख्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्डबाट टीका र माला लगाउनु दुबैको जीवनमा एतिहासिक क्षण बन्न पुग्यो । बिरेन्द्र बि.सी. र लक्ष्मी जोशी, स्कुल पढदादेखि नै क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा होमिए। २०५८ माओवादी आन्दोलनसँग जोडिए बिरेन्द्र। जनयुद्धको उत्कर्षमा २०६१ मा उनी बैतडीको उदयदेव माविमा अखिल क्रान्तिकारीको इकाइ कमिटीको नेतृत्व गर्न पुगे।
शान्ति प्रक्रियामा माओवादी अवतरणपछि २०६४ सालमा बिरेन्द्र नेकपा माओवादीको कञ्चनपुर जिल्ला कार्यालय सचिव बने। २०६७ मा अखिल क्रान्तिकारी सिटिईभिटीको पश्चिम जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारिमा रहेका बिरेन्द्र हाल भने नेकपा कञ्चनपुर जिल्ला कमिटीका सदस्य छन्।

दार्चुलामा जोशी ब्राम्हण परिवारमा जन्मेकी जन्मेकी लक्ष्मी २०६० सालदेखि नै माओवादी आन्दोलनमा जोडिइन। बिद्यार्थी राजनीतिमा सक्रिय रहेकै बेला बिरेन्द्रसँग उनको परिचय भयो र यो परिचय समयक्रमसँगै प्रेममा परिणत भयो। पछि कञ्चनपुर अखिल क्रान्तिकारीको उपाध्यक्ष र केन्द्रीय सदस्य बनिन लक्ष्मी। पछिल्लो समय भने उनी सुदूरपश्चिम विश्वविद्यालयमा जागिरे छिन्।
उनीहरुको प्रेम त्यति सहज थिएन। फरक जातका कारण सहनै विवाह हुन सक्ने कुरा थिएन। तर उनीहरुले अठोट लिऐका थिए। त्यसमा पनि उनीहरुको धोको अध्यक्ष प्रचण्डलाई नै साक्षी राखेर अनि आशिर्वाद लिएर बिहे गर्ने थियो।
आज पेरिसडांडामा आयोजित कार्यक्रममा उनीहरुको त्यो धोको पुरा भयो। अन्तरजातीय जनवादी विवाह गरेर समाजलाई समाज परिवर्तन भएको गतिलो उदाहरण दिएका छन् उनीहरुले।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















