३ फागुण २०७७
धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको संसद विघटनको कदम असंवैधाकि भन्दै नेपाली कांग्रेस काभ्रेले धुलिखेलमा विरोध प्रदर्शन सहित विरोध सभा सम्पन्न गरेको छ । देशैभरि प्रदर्शन गर्ने क्रममा प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै काँग्रेसले विरोध प्रदर्शन र सभा गरेको हो ।
धुलिखेल बसपार्कबाट सुरु भएको बिरोध ¥याली बीपी चोक, पुरानो बजार हुँदै सरस्वती बजारमा आएर सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले काम चलाउ भइसकेको केपी ओलीको सरकारले गरेका नियुक्तीहरु खारेजी हुनुपर्ने बताए । ‘ओलीले संविधान मै नभएको अधिकार प्रयोग गरेर संसद विघटन त गरे नै त्यो भन्दा पनि चुनाव घोषणा गरेर काम चलाउन भइसकेको सरकारले धमाधम जुन नियुक्ती गरेको छ, त्यो झन गलत कार्य हो ।’ उनले भने ‘न्यायपालिकालाई कार्यपालिकाले चलाउन खोजेकोमा कांग्रेसको गम्भीर ध्यानकर्षण भएको छ, लोकतन्त्रमा न्यायपालिका स्वतन्त्र हुनुपर्छ ।’
कांग्रेस नेता महतले नेपाली काँगे्रसको सरकारले लिएका नीतिले मुलुक यहाँसम्म आएको बताउँदै अब पनि जनतालाई साथ दिने पार्टी नेपाली कांग्रेस भएको बताए । उनले २०४६ सालमा ९ प्रतिशत जनतामा मात्र पुगेको बिद्युत अहिले ९० प्रतिशत जनताको घरघरमा पुगेको, ७ हजार किलोमिटर मात्र रहेको सडक अहिले ९० हजार किलोमिटर बनेको, गाउँगाउँमा स्वास्थ्य चौकी, बिद्यालय, विश्वबिद्यालय, मेडिकल कलेज, इन्जिनियरिङ्ग कलेज, बैंक, सहकारी गाउँगाउँमा पुग्नु कांग्रेस कै नीति रहेको बताए ।
कार्यक्रममा नेपाली काँगे्रसका जिल्ला सभापति मधुप्रसाद आचार्यले मुलुकलाई कम्युनिष्टहरुले अस्थिरता तर्फ लगेको भन्दै स्थिरताका लागि कांग्रेस अगाडि बढ्नुपर्ने बताए । कम्युनिष्टहरु समस्या निम्ताउन जाने पनि समाधान गर्न नसक्ने भएकाले अहिलेको समस्या समाधान पनि कांग्रेसले नै गर्नुपर्नेमा उनले जोड दिए ।
प्रधानमन्त्री केपी ओली भ्रष्टचारी र बलत्कारीको संरक्षक भएको बताउँदै यसका बिरुद्ध सबै एक हुन जरुरी रहेको सभापति आचार्यले बताए ।
कार्यक्रममा नेविसंघका महामन्त्री दीपक भट्टराईले अहिलेको केपी सरकार हत्या, हिंसा, बलत्कार, भ्रष्टचारको संरक्षणका लागि अधिनायवबाद तर्फ अग्रसर भएकाले त्यस बिरुद्ध काँगे्रस आन्दोलनमा आएको बताए ।
कार्यक्रममा पूर्व राज्यमन्त्री कञ्चनचन्द्र बादे, संविधानसभा सदस्य तीर्थ लामा, काँगे्रस जिल्ला उपसभापतिद्धय अच्युत पौडेल र गोविन्द बहादुर थापा, सचिव दिनेश लामाले मन्तव्य राखेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















