३ फागुन २०७७
धुलिखेल । काभ्रे जिल्लामा दलित माथि छुवाछुत र भेदभाव गर्ने ३ जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । जिल्ला अदालत काभ्रेले कैद सजायँ र जरिवाना फैसला गरेका ती प्रतिवादीहरु प्रहरी पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पाँचखाल नगरपालिका वडा नं. ६ बस्ने भुवनलाल श्रेष्ठको छोरा वर्ष ३७ को रामचन्द्र श्रेष्ठ, सानुकाजि श्रेष्ठको छोरा वर्ष २५ को नविन श्रेष्ठ, नानीकाजि श्रेष्ठको छोरा वर्ष ३० को दिपक श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी कुमार विक्रम थापाका अनुसार अदालतको फैसला कार्यन्वयनको सिलसिलामा फरार प्रतिवादीहरुको खोजतलास गर्दै जाने क्रममा पक्राउ परेका थिए । डिएसपी थापाका अनुसार पाँचखाल नगरपालिका वडा नं. ६ का धन बहादुर मिजारलाई २०७४ साल माघ १ गते पांचखाल न.पा.६ अरनिको राजमार्ग सडक खण्ड नजिक रहेको प्रतिक्षालयमा दलित भनी अपशव्द तथा गालिगलौज गरी जुत्ताको माला समेत लगाई गाउँ निकाला गर्न खोजेका थिए । जातिय छुवाछुत तथा भेदभाब मुद्दा शिर्षकमा अनुसन्धान पश्चात मुद्दामा काभ्रे जिल्ला अदालतमा पेश गरिएकोमा उच्च अदालत पाटनको मिति २०७६।०३।१६ गतेको फैसलाले सबै प्रतिवादीहरुलाई जनही ४ महिना कैद र रु. ५,०००। जरिवाना र पिडितलाई जनही रु. २५,०००। क्षतिपुर्ति भराउने फैसला भएको थियो ।
त्यसपश्चात फरार रहेका ती प्रतिवादीहरुलाई आइतबार पाँचखाल न.पा. ०६ बाट पक्राउ गरिएको डिएसपी थापाले जानकारी दिए । आइतबार नै फरार प्रतिवादीहरुलाई काभ्रे जिल्ला अदालत धुलिखेलमा पेश गरीएकोमा अदालतको आदेशले निज प्रतिवादीहरु बाँकी कैद र जरिवाना भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाईएको उनले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।