४ फागुन २०७७
नमोबुद्ध । तामाङ समुदायको साँस्कृतिक पर्वको रुपमा मनाउँदै आएको सोनाम ल्होछार सकिए पनि तामाङ समुदायमा भने यसको रौनकता सकेको छैन । विभिन्न गाउँ, टोलमा साँस्कृतिक कार्यक्रमका साथ २८५७ म्हे ल्हो सोनाम ल्होछार गाउँ–गाउँमा मनाउने क्रम जारी गरहेको छ ।
यसैबीच काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ५ कानपुर कालापानि बजारमा सोनाम ल्होछारको उपलक्ष्यमा बृहत संस्कृतिक कार्यक्रम हुने भएको छ । मन्जुश्री संवत २८५७ औं लाङ ल्हो, सोनाम ल्होछारको उपलक्ष्यमा कानपुरमा फागुन ९ गते आईतवारका दिन बृहत साँस्कृतिक कार्यक्रमको आयोजना हुन लागेको आयोजक समितिका संयोजक सिंग बहादुर लामाले जानकारी दिएका छन् ।
संयोजक लामाको अनुसार प्रत्येक बर्ष सोनाम ल्होछारको अवसरमा कार्यक्रम सम्पन्न गर्दै आएकोमा यस बर्ष पनि त्यसलाई निरन्तरता दिने कार्यक्रम रहेको हो ।
तामाङ समुदायको मौलिक पर्व, संस्कृतिक पर्व र राष्ट्रिय पर्वको रुपमा मान्दै आएको सोनाम ल्होछार कानपुरमा प्रत्येक बर्ष स्थानीय लामा गुरु, बोन्बो, ताम्बा, डम्फुरे लगायतको प्रस्तुति सहितको विबिध साँस्कृतिक कार्यक्रम समेत गर्दै आएकोमा यस वर्ष पनि ती सबै प्रस्तुतिहरुलाई निरन्तरता दिने उनले बताए ।
तामाङ कला र संस्कृतिको जगेर्ना गर्ने उदेश्यले, प्रत्येक बर्ष २ दिन मनाउने ल्होछार यो बर्ष भने विबिध कारणले १ दिन मात्र मनाउने भएको छ । ९ गते बिहान देखि लामा, झाँक्रीहरूबाट पूजा पाठ गरी कार्यक्रम सुरूहुनेछ ।
कार्यक्रममा हंस्या कलाकार राजु मास्टर (राजु पौडेल) र बल्छी धूर्बे (मरिचमान श्रेष्ठ) उपस्थित हुनेछन् भने गायक तथा सङंगीतकार निमा दोङ, प्रयास दोङ, हावा लामा, गयिका तथा नायिका सुनिता लुङ्बा, गायक तथा र्र्यापर उत्तर संगुल संगै वाइ.एस.के ग्रुप र अन्य थुप्रै लोक दोहोरी गायक गायिका, स्थानिय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहने छ । यस बर्ष ल्होछार कार्यक्रममा आफ्नो प्रस्तुतिका लागि नायिका एलिना रायमाझी पनि कानपुर जाने भएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।