४ फागुण २०७७
धुलिखेल । काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं. ४ मा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. ले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई १०० थान फ्लोरेन्स ज्याकेट हस्तान्तरण गरेको छ । आज संस्थाका अध्यक्ष प्रकाश बन्जाराले जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी उपरीक्षक एसपी भूपेन्द्र बहादुर खत्रीलाई उक्त सामाग्री हस्तान्तरण गरेको हो ।
प्रहरी, संघ संस्था र नागरिक बीच सदैब सहयोगी भावना रहेमा मात्र सुशासित समाजको परिकल्पना गर्न सकिने र संस्थाले उपलब्ध गराएको फ्लोरेन्स ज्याकेटले सडकमा कार्यरत प्रहरीहरुको जिवन बचाउन मद्दत पुग्ने बताउँदै जिल्ला प्रहरी नायब निरिक्षक विष्णु थापाले सामुदायिक साकोस परिवारलाई जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा स्वागत गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा एसपी खत्रीले समुदायिक साकोसले समुदाय प्रति चासो देखाउँदै जिल्ला प्रहरी कार्यालय, धुलिखेल प्रति देखाएको सद्भाव र सहकार्यता प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै अरु स्थानीय संघ संस्थाहरुलाई पनि सामुदायिक साकोसले जस्तै सामाजिक कार्यमा अग्रसर रहन अनुरोध गरे ।
फ्लोरेन्स ज्याकेट हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष बन्जाराले सामुदायिक साकोस सामाजिक क्रियाकलापमा सदैब अग्रसर रहेको र पनौती बसपार्कमा लायन्स प्रहरी बिट निर्माण देखि फ्लोरेन्स ज्याकेट समेतमा सामुदायिक साकोसको सहभागीता रहेको जानकारी गराउँदै संस्थाले समुदायमा पारेको प्रभाव र संस्थाको विगत देखि बर्तमानसम्मको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयको तर्फबाट प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापा, प्रहरी निरिक्षक सुरेश खत्री र सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को तर्फबाट लेखा सुपरिवेक्षण समितिका संयोजक हरिप्रसाद तिमल्सिना, कोषाध्यक्ष प्रताप ताम्राकार, प्रमुख कार्यकारी अधिकृत मदन बस्नेत र सदस्य राधेश्याम सापकोटाको उपस्थिति रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















