५ माघ २०७७
हेटौंडा । आज तोकिएको वागमती प्रदेश सभाको बैठक अनिश्चितकालको लागि स्थगित गरेको छ । आज दिनको २ बजे तोकिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको सूचना जारी गरेको छ ।
बैठक स्थगित भएको सूचना आज विहान मात्र जारी गरेको हो ।
नेकपा विभाजन पछि प्रदेशमा मुख्यमन्त्री डोरमणी पौडेलको विरुद्ध अविश्वास प्रस्ताव पेश भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बैठक नबसेको बुझिएको छ । सत्ता लम्ब्याउने र आफ्नो बहुमत सिद्ध गर्न जुनसुकै हर्कत गर्नका लागि समय चाहिएकोले यसरी बैठक स्थगित गरेको हुनसक्ने अनुमान छ ।
संसदमा अविश्वासको प्रस्ताव पेश भएको झण्डै २ महिना पछि पनि पटक–पटक बैठक स्थगित हुँदै आएको छ । बैठकको लागि प्रदेश सभा सदस्यहरु हेटौंडा पुगिसकेका छन् । तर बैठक स्थगित गरेको आज विहान मात्र थाहा भएको सांसदहरु बताउँछन् ।
यसैबीच वागमती प्रदेश सभा सदस्य सांसद रत्न ढकालले बैठक स्थगितको निर्णय आउनु राम्रो संकेत नभएको प्रतिक्रिया दिएका छन् । उनले सभामुखलाई षड्यन्त्र नगर्न अनुरोध समेत गरेका छन् । ‘अविश्वासको प्रस्ताव पेश भएको झन्डै २ महिना पछि पनि पटक पटक बैठक स्थगित हुनु, बैठक स्थलमा पुगे पछि स्थगित को निर्णय आउनुले राम्रो संकेत गर्छ ?’ सभामुखलाई र्इंगित गर्दै ढकालले भने, ‘सभामुख ज्यू, षड्यन्त्रको पनि हद हुन्छ है ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















