५ फागुन २०७७
मकवानपुर । आज तोकिएको वागमती प्रदेश सभाको बैठक विहान सवेरै एउटा सूचना जारी गरी स्थगित गरेपछि प्रदेश सरकार पनि ओलीपथमा लागेको छ । प्रधानमन्त्री ओलीकै निर्देशनमा प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेको बुझिएको छ ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमत पक्षले बागमती प्रदेशसभाका सभामुख श्रेष्ठलाई प्रधानमन्त्री ओलीको विश्वास पात्र मुख्यमन्त्री डोरमणि पौडेलको रबर स्ट्याम्प बनेको आरोप लगाएका छन् । साथै मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव छिटो टुंग्याउन पनि यो उनीहरुले माग गरेको छ ।
आज फागुन ५ गतेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक अनिश्चिकालका लागि स्थगित गरिएको सूचना टाँसेर सभामुख सम्पर्कविहीन बनेपछि अष्टलक्ष्मी शाक्य नेतृत्वमा नेकपा बहुमत पक्षकासांसदले उपसभामुख राधिका तामाङमार्फत पत्र बुझाउँदै यस्तो माग गरिएको हो ।
मंगलबार साँझ सभामुखकै कार्यकक्षमा सत्तापक्ष, प्रमुख प्रतिपक्ष दलका नेता, कार्य व्यवस्था परामर्श समितिका सदस्य समेतको उपस्थितिमा फागुन ५ का लागि डाकिएको बैठक नरोक्ने र मुख्यमन्त्री पौडेलमाथि परेको अविश्वास प्रस्तावलाई प्रक्रियामा लैजाने सहमति गर्ने तर आफैं मोबाइल स्विच अफ गरी बेखबर बनेपछि प्रदेशसभाका प्रचण्ड–माधव पक्षका नेकपा सांसद आक्रोशित बनेका हुन् ।
‘प्रदेशसभाको बैठक सन्चालन गर्ने व्यवस्था मिलाई आफ्नै विरुद्ध आएको अविश्वास प्रस्तावलाई छिटोभन्दा छिटो टुंग्याउनुपर्ने नैतिक दायित्व पूरा गर्नुपर्ने विषयमा स्वयं मुख्यमन्त्रीले पहल लिनुपर्नेमा सभामुखलाई समेत दबाब दिई सभामुखलाई सरकारको रबर स्ट्याम्पजस्तो बनाउने कार्य भएकोमा घार आपत्ति जनाउँदछौं।’ नेतृ शाक्यद्वारा हस्ताक्षरित उपसभामुख तामाङलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।
सभामुखको कदमले प्रदेशसभाको उपादेयिता समाप्त पार्ने षड्यन्त्र भएको भन्दै संघीयता विरोधीको योजनालाई सफल पार्ने कार्य त भइरहेको छैन भन्ने गम्भीर प्रश्न उठेको पनि ज्ञापनपत्रमा लेखिएको छ ।
जनताको हितका लागि कानुन निर्माण गर्ने थलोका रुपमा रहेको प्रदेश सभामा सभामुखबाटै कानुन मिच्ने काम भएको आरोप लगाउँदै आज बिहान जारी गरिएको सूचना सच्याउन आग्रह गरिएको छ। पत्रमा सभामुखबाट प्रदेशसभालाई अनिर्णयको बन्दी बनाएको, प्रदेशसभाको मर्यादा, मूल्यमान्यता, स्वतन्त्र भूमिका समाप्त पार्न कार्य भएको आरोप लगाइएको छ ।
विरोधपत्रमा ५६ दिनदेखि अल्पमतमा रहेको सरकारको लाचार छायाँ बनेको भन्दै यसका विरुद्ध उत्रिन प्रदेशसभामा प्रतिनिधित्व गर्ने दललाई आग्रह गरिएको छ ।
सभामुखले आफूहरुसँग सल्लाह नगरी एकाबिहानै बैठक स्थगित भएको सूचना टाँसेर सरकार मनपरी गरेकाले तत्काल बैठक राख्न आफूहरुले माग गरेको प्रचण्ड–माधव पक्षका प्रदेश सदस्य प्रेमबहादुर पुलामीले बताए ।
बागमती प्रदेशसभाका नेकपाका ४५ जना सदस्यले मुख्यमन्त्री विरुद्ध गत पुष १० गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावमाथि छलफल गर्न माघ ७ गते प्रदेशसभा बैठक सुरु गरी माघ ९ गते प्रदेशसभामा प्रस्तावबारे छलफल सुरु भइसकेकोमा माघ १९ गते बैठक बस्ने भन्दै स्थगित गरिएको थियो ।
बैठक बस्ने अघिल्लो दिन माघ १८ गते राति स्थगित गर्दै आज फागुन ५ गतेका बोलाइएको थियो । तर बिहान सूचना टाँसी बैठक पुनः स्थगित गरिएपछि प्रदेशसभाको बैठकबारे अन्यौलता बढेको छ ।
अविश्वासको प्रस्तावमाथि डटेर सामना गर्ने बताउँदै आए पनि सभामुखलाई दबाब दिँदै आफ्नो सरकार लम्ब्याउन खोजेको आरोप प्रधानमन्त्री केपी ओली पक्षका मुख्यमन्त्री पौडेललाई लागेको छ।
प्रदेशसभामा नेकपाका ८०, कांग्रेसका २२, विवेकशील साझाका ३, राप्रपाका २, नेपाल मजदुर किसान पार्टीका २ र स्वतन्त्र १ गरी १ सय १० जना छन्।
मुख्यमन्त्री पौडेललाई प्रदेशसभामा प्रस्ताव असफल बनाउन ५६ मत आवश्यक पर्नेमा ओली पक्षका ३५ मत मात्र रहेकाले कुर्सी जोगाउन २१ मत चाहिन्छ ।
सरकार जोगाउन आफूलाई चाहिने विश्वासको मत लिने पूर्वतयारीमा रहेका मुख्यमन्त्री पौडेलले सांसदलाई विभिन्न अवसर देखाए पनि सफल हुन नसकेको उनीमाथि अविश्वासमा हस्ताक्षर गर्ने एक सांसदले बताए ।
‘मुख्यमन्त्रीले साथीहरु कसैलाई मन्त्री, कसैलाई पैसा त कसैलाई केको अवसर दिएर हस्ताक्षर फिर्ता लिन भन्नुभएको सुनेका छौं,’ उनले भने, ‘काम गर्न असफल मुख्यमन्त्रीविरुद्ध अविश्वासको फिर्ता लिने होइन, अब चाँडै सरकार ढलाउने हो ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















