८ माघ २०७७
काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पञ्चभेला गर्दै हिँडेको टिप्पणी गर्नुभएको छ ।
प्रधानमन्त्री ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले शनिबार विराटनगरमा गरेको प्रदर्शनलाई संकेत गर्दै उनले देशभर पञ्चभेला गरेको टिप्पणी गरेका हुन् । भारतमा उपचार गराएर शनिबार स्वदेश फर्किएका खनालले पत्रकारहरुसँग विमानस्थलमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेर देशमा प्रतिक्रान्तिको थालनि गरेको र देशभर पञ्चभेला गर्दै हिँडेको बताएका हुन् ।
उनले आफू भारतमा रहँदा कुनै पनि राजनीतिक भेटघाट नगरेको पनि बताए । आफ्नो देशको समस्या आफै हल गर्नुपर्छ भन्ने मान्यतामा आफू रहेकोले अन्य देशका नेताहरुसँग भेटघाट गर्नुपर्ने कुनै कारण नरहेको उनले बताए ।
नेपाली जनता लोकतन्त्र र संविधानको रक्षाका लागि उठिसकेको बताउँदै आफूहरुको आन्दोलन सफलतामा नपुगि विश्राम नहुने पनि बताए । भारतमा आफूले एपोलो अस्पतालमा भर्ना भई उपचार गराएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको समेत खनालले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।