१० फागुन २०७७
चौंरीदेउराली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमत पक्षका वागमती प्रदेश समिति सचिवालय सदस्य तथा चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमले ओली समूहले भ्रम फैलाएको बताएका छन् । गए राती आफ्नो पार्टीले कोही कसैलाई आक्रमण र गाडी तोडफोड गरेको भन्दै भ्रम फैलाएपछि यस्तो कार्य नगरेको स्पष्ट पार्दै यसरी भ्रम फैलाएकोमा खेद व्यक्त गरे ।
आफूहरु लोकतन्त्रलाई सबैभन्दा बढी विश्वास गर्ने भएकोले कसैको राजनीतिक गतिविधि माथि आक्रमण वा अवरोध गर्ने सोच्न समेत नसकिने बताए ।
‘लोकतन्त्रमा सबैभन्दा बढी विस्वास हामीले गरेका छौं । त्यसैले कसैको राजनीतिक गतिविधि माथि आक्रमण वा अवरोध गर्न हामी सोच्न पनि सक्दैनौं ।’ उनले भने, ‘जवर्जस्ती झडप निमत्याउन र आफ्ना कार्यकर्ताहरुलाई थप अराजक बनाउन ओली समूहका जिल्ला नेताहरु लागि परेका मात्र हुन् । उनीहरुले भनेजस्तो तोडफोड र आक्रमण भएको छैन ।’
सहिद परिवारले प्रतिगमनको पक्षमा किन लागेको भन्दै प्रश्न गरेको र त्यसैमा भनाभनको अवस्था सिर्जना बाहेक आफूलाई अरु कुराको जानकारी नभएको पनि अध्यक्ष गौतमले जानकारी दिए । ‘सहिद परिवारले उनीहरुलाई केही प्रस्न गरेको सुनेको छु । विशेष गरि ‘प्रतिगमनकारी केपी ओलीको पक्षमा आफूहरु नरहेकोले यहाँ आउने अधिकार छैन’ भनेका रहेछन् । त्यहीं कुरामा भनाभन मात्र भएको जानकारीमा आएको हो ।’
आफूहरु असुरक्षित वा केही समस्या भएको महासुस भएको भए आफू स्थानीय सरकारको प्रमुख भएको हैसियतले सहयोग गर्न समेत तयार भएको र आफूलाई आक्रमणमा परेका भनिएकाहरु कसैले केही जानकारी नदिएको बताए ।
नेकपा ओलीका जिल्ला इन्चार्ज रहेका पूर्वमन्त्री गोकुल बाँस्कोटाले हिजो रातीनै छापामार शैलीमा आक्रमण गरेकोले सामाना गर्न तयार छौं भनेर सामाजिक सञ्जालमा लेखेका थिए ।
अध्यक्ष गौतमले उनको कुरालाई हावादारी र भ्रम फैलाउन कु प्रचार गरेका बताउँदै अनावश्यक रुपमा कार्यकर्ताहरुलाई उक्साउने र झडप निमत्याउन उद्धत भएको आरोप लगाए ।  ‘भ्रम फैलाउने पनि सिमा हुन्छ नि । कार्यकर्ताले जे सुनायो त्यहीं पत्याउने ? आफ्नो कार्यकर्तालाई थप अराजक हुन उक्साउनु उहाँको यो सही कुरा होइन ।’ उनले भने, ‘आफ्नो संगठन कमजोर भएपछि भ्रमको खेती मात्र गरेका हुन् । आफ्नो मालिक रिझाउन यहाँ आएका ओलीका कार्यकर्ताले बाँस्कोटाजीलाई सुनाएको कुरा हो ।’ उनले कोशीपारी र आम काभ्रेली जनता भ्रममा नपर्न समेत अनुरोध गरे ।
केपी ओलीले चालेको प्रतिगमनकारी कदमको विरुद्ध आफूहरु जनताको पक्षमा सधैंरहेको मात्र होइन, जनताको नेतृत्व समेत गर्दै आएको बताउँदै गौतमले प्रतिगामीहरुको विरुद्ध लाग्ने जनतालाई आफूहरुको साथ रहेको समेत प्रष्ट पारे ।
कुन गाडी तोडफोड भयो ?
भ्रम फैलाउन थालेपछि आफूले के भएको रहेछ भनि राम्रोसँग बुझेको बताउँदै गाडी तोडफोडको कुरा त झन ठूलै भ्रम रहेको प्रष्ट पारे । ‘कुन गाडी तोडफोड भयो ? फटाहा कुरा गर्ने ?’ अध्यक्ष गौतमले भने, ‘यो सब अराजक अभिव्यक्ति बाहेक केही होइन ।’ गाडी तोडफोड गरेको प्रमाण लिएर आउन गौतमले चुनौती समेत दिए ।
संगठन विस्तारका लागि चौंरीदेउराली गाउँपालिका वडा नं. ५ मा पुगेका नेकपा ओली पक्षका कार्यकर्ताहरुले भने आफूहरु माथि आक्रमण भएको र आफूहरु चढेको गाडी तोडफोड गरेको आरोप लगाएका छन् ।
यता इलाका प्रहरी कार्यालय, कात्तिके देउरालीकाका प्रमुख इन्स्पेक्टर पवन झाले भने गाडी तोडफोड नभएको जानकारी दिएका छन् । ढुंगाले हानेको जस्तो देखिने डाम देखिएपनि गाडी सुरक्षित रहेको बताए । ‘हो होल्ला भएको रहेछ । घट्नास्थलमा हामी पुग्दा कोही पनि भेटिएन ।’ इन्स्पेक्टर झाले भने, ‘गाडी तोडफोड केही भएको छैन । तर ढुंगाले लागेको जस्तो दाग चाहिं देखिन्छ । तर गाडी सुरक्षित नै छ ।’
उता नेकपाका जिल्ला सदस्य इन्द्र तामाङले आफूहरु सुरक्षित रहेको बताएका छन् । ‘हामी माथि आक्रमण गर्न आएका रहेछन् । तर हामी सुरक्षित छौं ।’ उनले भने, ‘गाडी भने तोडफोड गरेको छ ।’

Comments

comments