१० फागुन २०७७
धुलिखेल । काभ्रे जिल्लामा कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप कार्यक्रम अन्र्तगत खोप लगाउनेको संख्या आज ३ सय १ रहेका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार धुलिखेल अस्पताल र मेथिनकोट अस्पतालमा गरी सो संख्यामा खोप लगाएको हो ।
दोस्रो चरणको खोपमा पहिलो चरणमा छुट भएका स्वास्थ्य मातहतका व्यक्तिहरु, स्थानीय पालिकाका जनप्रतिनिधि तथा अन्य कर्मचारी, निजामति सेवाका कर्मचारी, जनपथ प्रहरी र खोप केन्द्रमा खटिएका ससस्त्र प्रहरी रहेका छन् ।
त्यसैगरी बैंक तथा तथा वितिय संस्थाका कर्मचारी, प्राधिकरण र संस्थामा कार्यरत कर्मचारी, न्याय सेवा समुहका कर्मचारी, पत्रकार, एम्बुलेन्स तथा शव वाहन चालक तथा सहचालकहरु र शव व्ययवस्थापनमा प्रत्यक्ष खटिने व्यक्तिहरु रहेका छन् ।
कोरोना खोपका लागि अनुमित पाएको जिल्लाको धुलिखेल अस्पताल र मेथिनकोट अस्पालमा कोरोना विरुद्धको खोपको दोस्रो चरणको कार्यक्रम सञ्चालन भइरहेको छ । यस अघि जिल्लामा पहिलो चरणको कोरोना विरुद्धको खोप कार्यक्रममा ३४ सय ९४ जनाले खोप लगाइसकेको कार्यालयको जानकारी छ ।
यसैगरि काभ्रेमा आज एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित व्यक्ति धुलिखेल नगरपालिकाका रहेका छन् । योसँगै जिल्लामा कुल संक्रमित संख्या ३३ सय ४९ पुगेको छ ।
काभ्रेमा आजसम्ममा ६ जना मात्र सक्रिय कोरोना संक्रमित रहेको डा. झाले जानकारी दिए । उनका अनुसार सक्रिय संक्रमितमध्ये बनेपा नगरपालिकाबाट १ जना महिला र १ जना पुरुष, धुलिखेल नगरपालिकाबाट १ जना महिला र १ जना पुरुष र पनौती नगरपालिकाबाट २ जना महिला रहेका छन् ।

Comments

comments