१३ फागुन २०७७
काठमाडौं । व्यवस्थापनले श्रमजीवि पत्रकारको हक अधिकारको स्थायित्व गर्नुको साटो उल्टै रोजिरोटीबाटै विमुख हुने अबस्था सिर्जना गराएको भन्दै राष्ट्रिय समाचार समिति(रासस)मा कार्यरत श्रमजीवि पत्रकार आन्दोलित भएका छन् ।
गएको साउनदेखि नै विभिन्न माग राखेर पटक÷पटक मौखिक र लिखित रुपमा व्यवस्थापन पक्षको ध्यानाकर्षण गराउँदा पनि राससका÷अस्थायी÷करार ज्यालादारीमा कार्यरत श्रमजीवि पत्रकारका माग पूरा गराउन व्यवस्थापनले अटेरी गरी पेशा नै गुमाउनुपर्ने अबस्था सिर्जना गरेकाले बाध्य भएर आन्दोलिन हुनु परेको पीडित पत्रकारले बताएका छन् ।
त्यसका लागि पहिलो चरणमा माग पूरा गराउन साङ्केतिक रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरी ध्यानाकर्षण गराउँदा सुनुवाई नभएपछि बुधवार बसेको श्रमजीवि पत्रकारको संयुक्त संघर्ष समितिको बैठकले आज(विहीबार)देखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको संयोजक रमेश गिरीले जानकारी दिनुभयो ।
यसअघि फागुन ६ गते पहिलो चरणको आन्दोलन घोषणा गर्दै उनीहरुले फागुन ७ गते राससको हिरक महोत्सवमा सहभागिता नजनाउने निर्णय गरी साङ्केतिक विरोध गर्दै माग पूरा गराउन पाँच दिनको समयसिमा दिएका थिए । तर त्यसमा व्यवस्थापनले कुनै सुनुवाई नगरेपछि बाध्य भएर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुपरेको संयोजक गिरीले बताउनुभयो ।
सञ्चार मन्त्रालयले राससमा कार्यरत श्रमजीवि पत्रकारका माग सम्बोधन गर्न रासस व्यवस्थापन पक्षलाई पटक÷पटक निर्देशन दिए पनि व्यवस्थापन पक्षले त्यसलाई लत्याउँदै आएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले श्रमजीवि पत्रकारको माग सम्बोधन गरेर मात्रै अन्य प्रक्रिया अघि बढाउन निर्देशन दिए पनि व्यवस्थापन पक्षले अटेरी गरेर पदपूर्ति प्रक्रिया अघि बढाएकोमा पत्रकारले आपत्ती जनाएका छन् । मन्त्री गुरुङले पत्रकारसँग भएको छलफलमा समेत स्थायित्वको सुनिश्चितता गरिने आश्वासन दिनुभएको थियो ।
राससको हिरक महोत्सवका क्रममा उहाँले तत्काल समस्या समाधान गर्न व्यवस्थापनलाई निर्देशन दिँदा समेत दिनुभएको थियो । समितिका संयोजक गिरीका अनुसार दोस्रो चरणको आन्दोलन अन्तर्गत रासस केन्द्रीय कार्यालयमा फागुन १३ र १४ गते कालोपट्टी बाँधेर काम गर्ने, फागुन १५ र १६ गते कालो मास्क लगाएर प्रदर्शन गर्ने र फागुन १७ गते रासस केन्द्रीय कार्यालयमा धर्ना दिनेलगायतका कार्यक्रम सार्वजनिक गरेका छन् ।
उनीहरुले आन्दोलनको जानकारी नेपाल पत्रकार महासंघ, प्रेस संगठन नेपाल, प्रेस युनियन नेपाललगायत सञ्चारसँग सम्बन्धित संघ संगठनलाई समेत दिइसकेका छन् ।
दोस्रो चरणको आन्दोलनपछि पनि रासस व्यवस्थापन पक्षले मागको सुनुवाई नगरे रासस प्रशासन शाखा, महाप्रबन्धक र अध्यक्षको कार्यकक्षमा तालाबन्दीलगायत कडा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।
संविधानको मौलिक हकमा रोजगारीको हकको सुनिश्चितता गरिएको र श्रमजिवी पत्रकार ऐनले पत्रकारको रोजगारीको ग्यारेन्टी गरेपनि रासस व्यवस्थापनले संविधान र कानुनको बर्खिलाप हुने गरी पदपूर्ति प्रक्रिया अघि बढाएको पिडित पत्रकारले बताएका छन् ।
श्रमजीवि पत्रकार ऐन २०५१ (संशोधन २०६४)ले पनि ति पत्रकारको रोजगारीको सुनिश्चिता गरेको सन्दर्भमा त्यसलाई वेवास्ता गर्दै व्यवस्थापन पक्षले श्रमजीवि पत्रकार विरुद्ध हुनेगरी कार्य प्रक्रिया अघि बढाएको जनाइएको छ ।
बुधवार दोस्रो चरणको आन्दोलनको ज्ञापनपत्र बुझ्दै राससका महाप्रबन्धक ओपेन्द्र शर्माले पत्रकारको मागका विषयमा आफु गम्भिर रहेको र समस्या समाधानमा पहल भइरहेको जानकारी दिनुभयो ।
राससको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले पत्रकारहरुले उठाएका माग जायज रहेकोले तत्काल सम्बोधन गर्न व्यवस्थापन पक्षसँग माग गर्नुभयो । उहाँले माग सम्बोधनका लागि पहल गर्ने आश्वासन समेत दिनुभएको छ ।
पत्रकारको मागका विषयमा रासस भित्र रहेका कर्मचारी संघ संगठनले ऐक्यवद्धता जनाइसकेका छन् । पत्रकारहरुले रोजगारीको स्थायित्व हुनुपर्ने, विनियमावली संशोधन गरेर कर्मचारी परिभाषा भित्र समेट्नुपर्ने, कार्यरत पत्रकारलाई खुला प्रतिस्पर्धामा सहभागि हुने अधिकारको सुनिश्चितता हुनुपर्ने, विगतमा राससमा गरिएको अभ्यास अनुसार समान तह खुला आन्तरिक प्रतिस्पर्धाद्धारा स्थायी प्रक्रिया अघि बढाउनुपर्ने लगायतका माग राख्दै आएका छन् ।
स्मरणरहोस् यसअघि वि.सं २०७२ मा सो संस्थामा कार्यरत ३२ जना पत्रकारलाई सोही प्रक्रियाद्धारा स्थायी गरिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















