बनेपा । नेपाल प्रेस युनियनको आयोजनामा स्व उर्मला सापकोटाको ११ औ पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । २०६६ सालमा अध्ययनका लागि ललितपुरको गोटिखेल जाने क्रममा उनको सवारी दुर्घटनामा परि निधन भएको थियो ।
उनको स्मृतिमा परिवारका तर्फबाट ९ वर्ष अघि १ लाख रूपैयाँको अक्षयकोषको स्थापना गरेको थियो । अक्षयकोषबाट हरेक वर्ष डाँडापारी क्षेत्रका समस्याका विषयहरू माथि कलम चलाउने एक जना पत्रकारलाई सम्मान गर्ने गरिएको छ । पछिल्लो २ वर्ष सम्मान कार्यक्रम नगरी पुण्य तिथिको अवसर पारेर युनियनले सम्झनाका कार्यक्रम मात्रै गर्दै आएको छ ।
श्रद्धाञ्जली सभामा नेपाल पत्रकार महासंघ तथा प्रेस युनियन काभ्रे शाखाका पूर्व अध्यक्ष नारायण सापकोटाले स्थापित कोषको मर्म बमोजिम कार्यहुन नसकेको बताएका थिए । नेतृत्वको असक्षमताका कारण कोषको संरक्षणका लागि थप कार्य गर्न आवस्यक रहेको बताएका थिए ।
अर्का पुर्व अध्यक्ष महेश पौडेलले नेतृत्वको कमजोरीकै कारण कोष उद्देश्य बमोजिम संचालन हुन नसकेको बताउँदै सबैको साथ सहयोगले व्यवस्थित गर्नु पर्ने बताएका थिए । कार्यक्रमका सभापति समेत रहेका प्रेस युनियन जिल्ला अध्यक्ष कपिल कोइरालाले कोषको मर्म अनुसार कार्य हुन नसकेको स्विकार्दै आफुलाई काममा बाधा सृजना भएको गुनासो गरे ।
गत वर्ष र यो वर्षको गरि २ वर्षको पुरस्कार वितरणका लागि छनोट समितिले २ जनाको नाम सिफारिस गरेको भए पनि युनियन अध्यक्षले पछिल्लो समयमा पुरस्कार वितरण गर्न नसकिने भन्दै स्थगन गरेको परिवारको गुनासो छ । परिवारको तर्फबाट सहज वातावरण सृजना गर्दा गर्दै नेतृत्वको असक्षमताका कारण पुरस्कार स्थगन हुन पुगेको सापकोटाका दाजु नवराज सापकोटाले गुनासो गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















