चौंरीदेउराली । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा ‘अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगिता–२०७७’ को मिति तय भएको छ । प्रतियोगिता आगामी फागुन २८ गतेदेखि चैत्र १ गतेसम्म हुने गाउँपालिका प्रवक्ता एवं वडा नं. ३ का वडा अध्यक्ष विनोद घिसिङले जानकारी दिएका छन् ।
चालु आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम अनुसार खेलकुदको माध्यमबाट युवा जगतमा अनुशासन एवम् आचरणमा सुधार ल्याई शारीरिक, मानसिक एवम् बौद्धिक विकास गर्ने उद्देश्यले हरेक वर्ष सञ्चालन गर्दै आएको प्रवक्ता घिसिङले बताए ।
प्रतियोगितामा प्रत्येक वडाहरूबाट सहभागी हुने घिसिङले जानकारी दिए । ‘गाउँपालिकामा रहेको ९ वटै वडाका टिम उत्साहपूर्वक सहभागी हुनेछन् । हामीले यो पटकको प्रतियोगितालाई थप व्यवस्थित गर्न लागेका छौँ ।’ उनले भने, ‘गाउँपालिकाले खेलकुदलाई युवाहरूको अनुशासन, बौद्धिक विकास, सुमधुर सम्बन्ध र सद्भावको विकास गर्न विशेष जोड दिएका छौँ ।’
यस पटकको फुटबल प्रतियोगिता वडा नं. ३ को माझीफेदा खेलमैदानमा हुने उनले बताउँदै उद्घाटन खेल फागुन  २८ गते हुने जानकारी दिए ।
प्रतियोगितामा प्रत्येक वडाबाट खेलाडी सङ्ख्या अतिरिक्त र अफिसियल सहित १३ जनाको सहभागी हुने प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले जानकारी दिए ।
यस्तो छ पुरस्कार
प्रमुख प्रशासकीय अधिकृत लामाका अनुसार यो पटक प्रतियोगितामा पहिलो हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउने छ । त्यसै गरी प्रतियोगितामा दोस्रो हुनेले ५० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार पुरस्कार पाउने लामाले जानकारी दिए । प्रतियोगिता एन्फाको प्रतिनिधिको विशेष उपस्थितिमा र जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा हुन लागेको हो ।
प्रतियोगिता सम्बन्धमा गाउँपालिकाले सूचना समेत जारी गरेको छ ।

Comments

comments