तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ९, भण्डारी बेसीमा रहेको बर बोट चौतारा मर्मत सम्पन्न भएको छ । सम्पन्न भएपछि प्रतिनिधि सभा सदस्य सांसद गङ्गाबहादुर तामाङ (बमध्व्ज) ले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् ।

उक्त चौतारा मर्मत वडा नं. ९ को आर्थिक सहयोगमा स्थानीय त्रिवेणी आमा समूहले मर्मत गरेको थियो । जीर्ण अवस्थामा रहेको उक्त चौतारा मर्मतका लागि चालु आर्थिक वर्षमा वडा कार्यालयले २ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
कार्यक्रममा सांसद बमध्वजले समाजमा रहेका सबै मिलेर मात्र विकास निर्माण हुनेमा जोड दिए । उनले भकुन्डे–मेच्छे–माम्ती सडक कालोपत्रेको लागि चाँडै टेन्डर हुन लागेको बताउँदै त्यसको लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए ।

त्यसै गरी वडा अध्यक्ष चन्द्रबहादुर तामाङले चौतारा निर्माणको लागि थप बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जाहेर गर्दै अब चौतारामा बुद्धको मूर्ति स्थापना गर्न आफूले सहयोग गर्ने बताए ।

कार्यक्रममा वडा सदस्यहरू टेकबहादुर थोकर, कान्छा लामा, रस्मिता भण्डारी, तेमाल गाउँपालिकाका प्राविधिक रामप्रसाद दाहाल, नेकपाका वडा अध्यक्ष हस्तबहादुर तामाङ, छारह्युल कृषि सहकारी संस्थाका अध्यक्ष सुरेशकुमार दोङ, नेकपा महिला नेतृ सरस्वती पुलामी लगायतका सहभागी रहेका थिए ।
कार्यक्रम त्रिवेणी महिला समूहका अध्यक्ष ठूलीमाया तामाङको अध्यक्षता सम्पन्न भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।