सरकारले प्रतिबन्धित नेकपा (विप्लव) समूहसँग तीन बुँदे सहमति गरेसँगै शुक्रवार पार्टीका महासचिव नेतविक्रम चन्द विप्लव सार्वजनिक हुँदै छ । शुक्रवार नै विप्लव र प्रधानमन्त्री केपी शर्मा आलीले एक कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बिच भएको वार्ता प्रक्रिया सकारात्मक निष्कर्षमा पुगेको । दुई दिन सम्म चलेको वार्ता पश्चात् आजै नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बिच तीन बुँदे सहमति भएको छ । आज सार्वजनिक गरिएको प्रेस नोटमा नेपाल सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ द्वारा हस्ताक्षर गरिएको छ ।
सहमति अनुसार नेपाल कम्युनिस्ट पार्टी माथि लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीहरू रिहा गर्ने र नेता कार्यकर्तामाथि लगाइएका सबै मुद्दाहरू खारेज गर्ने सहमति भएको छ । त्यस्तै नेपाल कम्युनिस्ट पार्टीले उठाउँदै आएका सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्ने र आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ ।
सहमतिबारे विस्तृत जानकारी भोलि २०७७ फागुन २१ गते दिनको २ बजे एक विशेष समारोह मार्फत गरिनेछ । उक्त विशेष समारोहमा प्रधानमन्त्री केपी ओली र महासचिव विप्लवले सम्बोधन गर्ने सहमति समेत भएको छ ।
वार्ता टोलीको प्रेस नोटमा भनिएको छ
‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीका बीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टी माथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषयहरू रहेका छन् । सहमतिको विस्तृत विवरण यही फागुन २१ गते दिनको २ बजे विशेष समारोहबिच सार्वजनिक गरिनेछ । उक्त समारोहलाई नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट उक्त पार्टीका महासचिव कमरेड विप्लवले सम्बोधन गर्नुहुने छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















