चौंरीदेउराली । काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नं. ५, चौँरीका दलितहरूलाई, सुधारिएको आरन, आर्थिक अनुदान र पञ्चेबाजा वितरण गरेको छ । चालु आर्थिक वर्षको वडाको दलित उत्थान तथा आय अर्जन योजना अन्तर्गत यसरी वितरण गरिएको हो ।
वडा अध्यक्ष राजकुमार गौतम (आयुश)ले वडा कार्यालयमै एक कार्यक्रमका बिच वितरण गरिएको थियो ।
दलितहरूलाई कर्नाल २ थान, सनाई २ थान, २ वटा दमाहा, ट्याम्को १ थान, ढोलक १ थान, झ्याम्टा १ जोडी लगायतका बाजाका सामाग्री वितरण गरिएको थियो ।

दलित समुदायको आय अर्जनमा टेवा पनि पुग्ने र परम्परागत बाजागाजा सँस्कृतिको पनि संरक्षण गर्ने उद्देश्यले उक्त सामाग्री वितरण गरिएको वडा अध्यक्ष गौतमले बताए । ‘दलितलाई आत्मनिर्भर बनाउन आय अर्जनको बढाउन हामीले यस्तो योजना बनाएका हौँ ।’ गौतमले भने, ‘दलित समुदायको आय अर्जनमा टेवा पनि पुग्ने र परम्परागत बाजागाजा संस्कृतिको पनि संरक्षण गर्ने उद्देश्यले हामीले उहाँहरूलाई चाहिने बाजागाजाका सामग्री वितरण गरेका हौँ ।’
त्यसै गरी सो कार्यक्रममा प्रति आरान ५० हजार रुपैयाँ बराबरको मूल्य पर्ने सुधारिएको आरन ३ ठाउँमा वितरण गरिएको थियो ।
परम्परागत आरनलाई विस्थापित गरी आधुनिक आरनको व्यवस्थापन गर्न आफूहरूले सुधारिएको आरान वितरण गरेको वडा अध्यक्ष गौतमले बताए ।
त्यस्तै दलितहरूको दुई वटा बङ्गुर पालन फर्मलाई पनि २ लाख रुपैयाँ रकम अनुदान दिएको छ । सो क्रममा चौंरीदेउराली बङ्गुर फर्मका लागि १ लाख ५० हजार रुपैयाँ, सुलिकोट बङ्गुर फर्मलाई ५० हजार रुपैयाँ रकम अनुदान दिएको थियो । आय अर्जनसँग प्रत्यक्ष रुपमा जोड्दै आत्मनिर्भर र स्वरोजगार सिर्जना गर्न अनुदानको कार्यक्रम पनि ल्याएको उनले बताए ।
‘हामीसँग परम्परागत सिप मात्र छ, जसको कारण व्यबसायीक रूपमा बङ्गुर पालन गर्न सकेका छैनौँ । दलित समुदायलाई हामी स्वरोजगार बनाउँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउन चाहन्छौँ ।’ वडा अध्यक्ष गौतमले भने, ‘बुङ्गुर पालनलाई आधुनिक र व्यावसायिक बनाउन उहाँहरूलाई अनुदान दिएका छौँ । हाम्रो सानो सहयोगले उहाँहरूलाई टेवा पुग्छ भन्नेमा विश्वास गर्दछौँ ।’
खुसी भए दलितहरू
यसैबिच आफ्नो समूहलाई बाजागाजा पाएपछि हिराबहादुर नेपाली खुसी भएका छन् । बाजागाजाको अभावका कारण परम्परा र संस्कृति नै जोखिममा रहेको बेला यसरी बाजागाजा पाएपछि उनी खुसी भएका हुन् । ‘बाजागाजा नभएर हाम्रो आय अर्जन नै धरापमा परेको थियो ।’ नेपालीले भने, ‘अब परम्परा र संस्कृति पनि जोगिने भयो, आय अर्जन पनि बढ्ने भयो ।’
त्यसै गरी स्थानीय सरोज रसाइली पनि आधुनिक र सुधारिएको आरान पाएपछि खुसी भएका छन् । एकातिर स्वरोजगार हुने र अर्को तिर सुधारिएको आरनले बढी काम गर्न सक्ने भएकोले आरान दिएकोमा वडा कार्यालयलाई धन्यवाद समेत दिए । ‘किसानहरू कृषि औजार बनाउन सहर तिर धाउन थाले । हामीसँग परम्परागत आरान मात्र थियो ।’ खुसी हुँदै रसाइलीले भने, ‘अब त्यस्तो समस्या आउँदैन । आरान पाएपछि पेसा र आय अर्जन वृद्धि भई स्वरोजगारको ग्यारेन्टी भयो । वडा वडा अध्यक्ष ज्यूलाई धन्यवाद ।’
८६ किसानलाई गाई भैँसी सुत्केरी भत्ता
त्यसै गरी कार्यक्रममा ८६ जना किसानलाई गाई भैँसी सुत्केरी भत्ता समेत वितरण गरेको छ । उनीहरूलाई १५ सय रुपैयाँका दरले भत्ता वितरण गरिएको हो ।

भैँसी पालनको पकेट क्षेत्रको रूपमा विकास गर्न र किसानलाई प्रोत्साहन स्वरूप भैँसी सुत्केरी भत्ता वितरण गरिएको वडा अध्यक्ष गौतमले बताए ।
यस अघि पनि सो वडाले १ सय ३ जना किसानलाई सुत्केरी भत्ता वितरण गरेको थियो । भैँसी सुत्केरी भत्ता पाएपछि स्थानीय किसान यम प्रसाद गौतम खुसी भएका छन् । किसानलाई प्रोत्साहन गर्ने यो नौलो योजना प्रति उनी खुसी छन् । ‘कहीँ नभएको योजना यहाँ बनाएको रहेछ, अत्यन्तै नौलो काम लागेको छ ।’ गौतमले भने, ‘मान्छेलाई त सुत्केरी भत्ता पाएको सुनेको तर भैँसीलाई पनि दिने प्रचलन ल्याएकोमा खुसी लागेको छ । हामी किसानलाई यो योजनाले प्रोत्साहन मिलेको छ ।’

चौंरीदेउराली गाउँपालिका वडा नं. ५ कोसीपारि क्षेत्रकै सबैभन्दा बढी भैंसीपालन गर्ने वडाको रूपमा यो वडालाई चिनिन्छ ।
कार्यक्रममा उपाध्यक्ष ताराकुमारी चौंलागाईं, वडा सचिव अनिलराज गिरी, वडा सदस्यहरू बाबुराम चौंलागाईं लगायतका सहभागी थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















