अनौपचारिक रूपमा विभाजन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रचण्ड–नेपाल पक्ष नै बहुमतमा रहेको प्रस्ट भएको छ । राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै सदनमा प्रधानमन्त्री केपी शर्मा आली स्पष्ट अल्पमतमा देखिन्छ ।
नेकपा बहुमत पक्षको हिजो बसेको संसदीय दलको बैठक र ओली (अल्पमत पक्ष)को आज बसेको संसदीय दलको बैठकले पनि यो प्रस्ट पारेको छ ।
नेकपा बहुमत पक्षको हिजो बसेको दलको बैठकमा दुवै सदनका १२० सांसद उपस्थित रहेको बताइएको छ । यो सङ्ख्या संसदीय दलमा प्रस्ट बहुमत हो । ११५ जनाले हिजै हस्ताक्षर गरेको र उपत्यका बाहिर रहेका योगेश भट्टराई, जीवन शाही लगायतका पाँच सांसदले पनि हस्ताक्षर गरिसकेको छ ।
प्रतिनिधिसभामा नेकपाका १७४ सांसद छन् । जसमध्ये एक सांसद शिवा आलेको निधन भएको छ भने सभामुख अग्निप्रसाद सापकोटा तटस्थ छन् । बाँकी १७२ मध्ये प्रचण्ड–नेपाल पक्षमा हस्ताक्षर गर्नेको सङ्ख्या ९१ पुगेको छ । ओली खेमाले आफ्नो लिस्टमा राखेका माया ज्ञवाली र गङ्गा चौधरी हिजो प्रचण्ड–नेपालको भेलामा खुलेका छन् । बामदेव गौतम, तुलसा थापा र लालबाबु पण्डित तटस्थ छन् ।
यता, ओली पक्षले पनि संसदीय दलमा आफूसँगै बहुमत भएको दाबी गरिरहेकै छ । तर त्यो पक्षमा ७८ को हाराहारीमा प्रतिनिधिसभा र २३ जना राष्ट्रियसभाका सांसदहरू खुलेको बताइन्छ । ओली पक्षले वामदेव गौतम पक्षका सांसदहरूलाई पनि गणना गरेको छ । गौतमसँग कम्तीमा पाँच सांसद रहेको बताइन्छ । निर्णायक घडीमा गौतमको साथ आफूहरूलाई नै हुने उताको बुझाइ छ ।
सरकार गठनमा राष्ट्रियसभाको भूमिका नभए पनि संसदीय दलमा दुवै सदनका सांसदहरू रहन्छन् । दुवै सदनमा गरी नेकपाका कूल सांसदको सङ्ख्या २२३ छ । सभामुख र राष्ट्रिय सभाका अध्यक्षबाहेक २२१ जनामध्ये १२० प्रचण्ड–माधव पक्षमा र ९५ जना ओली पक्षमा खुलेर लागेको देखिन्छ । बाँकी केही हालसम्म तटस्थ छन् ।
तटस्थ रहेकाहरू अन्तिम अवस्थामा जुन पक्षसँग बहुमत छ त्यतै लाग्ने तयारीमा रहेको बताइन्छ । दुबैतिर गनिएका तर कतै हस्ताक्षर नगरेका त्यस्ता सांसदको सङ्ख्या कम्तीमा ५ देखि १० जना रहेको बताइन्छ । त्यो सङ्ख्या समेत बहुमत पक्षमा आउने हुँदा आफूहरू थप बलियो हुने प्रचण्ड–नेपाल समूहको दाबी छ ।
प्रचण्ड–नेपाल पक्षमा बहुमत देखिएपछि ओली पक्षको रणनीति फेरिएको छ। शनिवार संसद् भवनभित्रको ल्होत्से हलमा बोलाइएको दलको बैठक एकाएक बालुवाटार सारिएको छ । स्रोतका अनुसार प्रचण्ड–नेपाल पक्षमा १२० सांसद खुलेपछि ओली पक्ष स्थान फेरेको हो । मिडियाबाट बच्न बालुवाटारमै बैठक राख्ने निष्कर्षमा पुगेको बताइन्छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।