तेमाल । जेष्ठ नागरिकहरूको स्वास्थ्य शिविरको आयोजना पछि काभ्रे जिल्लको तेमाल गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष मानबहादुर श्रेष्ठलाई बृद्धबृद्धाहरुले आशीर्वाद दिएका छन् । ज्येष्ठ नागरिकहरूले आफूहरूको स्वास्थ्य प्रति चिन्ता गरेको भन्दै आफ्नै छोराले जस्तै चासो राखेकोले उनीहरू खुसी समेत भए ।
वडा कार्यालयले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेपछि स्थानीय वृद्धवृद्धाहरुमा खुसी छाएको छ । शनिवार भएको शिविरले ७० वर्ष माथिका ज्येष्ठ नागरिकहरू खुसी भएका हुन् ।
स्थानीय सुनबहादुर तामाङले वडाले गरेको यो शिविर आफूहरूका लागि राम्रो अवसर भएको बताए । छाती दुख्ने, टाउको दुख्ने समस्या रहेको बताउने ८१ बर्सिया तपमाया कार्की शिविरमा स्वास्थ्य परीक्षण पश्चात् निकै हर्षित देखिनुहुन्थ्यो ।
“आफ्नै छोराछोरीले जसरी वडाध्यक्ष बाबुले यति धेरै माया गरेर गाउँमै डक्टरहरू बोलाउनुभयो, औषधि पनि पाएँ ।” खुसी हुँदै उनले भने, “अस्पताल जानै परेन ।”
शिविरको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व गाविस अध्यक्ष एवं राजनीतिज्ञ इन्द्र बहादुर तामाङले वृद्ध आमाबाबुको सदैव सम्मान गर्नुपर्ने उल्लेख गर्दै यही सिलसिलामा वडा सरकारले निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण कार्यक्रम गरेकोमा खुसी व्यक्त गरे  ।
उनले वृद्धवृद्धाहरुलाई जीवनप्रति सकारात्मक आस्था राख्न अनुरोध गर्दै जीवन दुःखसुखको सङ्गम भएको औँल्याए ।
उनले भने,  “हाम्रो अगाडि बगिरहेको सुनकोसी धेरै नदिहरु मिलेर बनेको हो, हाम्रो जीवन पनि उस्तै हो धेरै दुखसुख मिलेर बनेको छ, त्यसैले जिन्दगीलाई भारी सम्झिनु हुन्न ।”
स्थानीय समाजसेवी भरत पाठकले वृद्धवृद्धाको स्वास्थ्यप्रति ख्याल गर्ने आयोजकको कामको सराहना गरे ।
वडाध्यक्ष मानबहादुर श्रेष्ठले वृद्धवृद्धा मार्गदर्शक व्यक्तित्व भएको र उहाँहरूको हेरचाहमा वडाको ध्यान गएकोले यस्तो कार्यक्रम गरिएको स्पष्ट पारे ।
उनले आगामी आर्थिक वर्षमा पनि वडा स्तरमा ज्येष्ठ नागरिकको हितकारी कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाए  ।
शिविरमा स्वास्थ्यकर्मीहरूको संयोजन गरेका डाक्टर रामशरण श्रेष्ठले वृद्धवृद्धाहरुको हाड जोर्नी, प्रेसर,सुगर,ग्यास्ट्रिक,दम, छातीको सङ्क्रमण,ज्वरो लगायतका जनरल समस्याहरूको परीक्षण गरेको जानकारी दिए ।
स्वास्थ्य परीक्षण गरिएका १४७ जना ज्येष्ठ नागरिकहरूमा उच्च रक्तचापका २६,सुगर समस्या ७,दमको समस्या ३७, छातीको सङ्क्रमण ३,रुगाखोकी ९, ग्यास्ट्रिक समस्या ५६, हाड जोर्नीको समस्या १६, मस्तिष्क पक्षाघातको समस्या ३, मोतीबिन्दुका ३, शारीरिक कमजोरी भएका १५ जना भेटिएको डाक्टर श्रेष्ठले बताए ।
उनका अनुसार यिनै समस्याहरूबारे आवश्यक परामर्श र परीक्षणका साथै परीक्षणपछि १३६ लाई निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा इसिजी सेवा समेत थियो ।
शिविरको स्वास्थ्य टोलीमा डाक्टर श्रेष्ठका साथै मेथिनकोट अस्पतालका स्टाफ नर्स,ल्याब टेक्निसियन, भक्तपुर अस्पताल लगायत अन्य अस्पतालका समेत विशेषज्ञ, महिला स्वास्थ्य स्वयं सेविकासहित सामुदायिक स्वास्थ्य इकाई सर्स्यूंखर्कका प्रमुख लोकनाथ चिमौरियाको टोली खटिएका थिए ।
शिविर प्रभावकारी बनाउन शिविरको सहजिकरणमा जनप्रतिनिधि,स्थानीय शिक्षकहरू र विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिहरूको पनि सक्रियता थियो ।
ज्येष्ठ नागरिकहरूलाई सहजताका लागि शिविर सञ्चालन स्थलसम्म गाडीमा ल्याउने र पुर्‍याउने व्यवस्था समेत गरिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।