नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाका लागि सुविधा सम्पन्न एम्बुलेन्स प्राप्त भएको छ ।
बेन चोङ एन्ड फ्रेण्डस म्याजिकल लाइट र किमोलुङ फाउन्डेसन नेपालले सहयोग स्वरूप उपलब्ध गराएको एम्बुलेन्स सोमबार नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
किमोलुङ फाउन्डेसनका संस्थापक अध्यक्ष वाङचुक राप्तेन लामाले नमोबुद्ध नगर प्रमुख टिपी शर्मा तिमल्सिनालाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका थिए । उक्त एम्बुलेन्स १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
उक्त एम्बुलेन्स नमोबुद्ध नगरपालिकाले फेन्दे फाउन्डेसन नेपाल अन्तर्गत नमोबुद्ध नगरपालिका वडा नं. १ मा सञ्चालित ठ्राङ्गु फेन्दे क्लिनिकलाई प्रदान गर्नेछ । क्लिनिकले नमोबुद्ध नगरपालिकाका दाप्चा भेगका सर्वसाधारणका लागि लक्षित गर्दै एम्बुलेन्स सञ्चालन गर्नेछ ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले नगर बासीको स्वास्थ्य सेवामा किमोलुङ फाउन्डेसन सहितका दातृ संस्था तथा वाङचुक राप्तेन लामालाई सम्मान गरेका थिए ।
तिमल्सिनाले विगतदेखि नै नगर बासीको स्वास्थ्य सेवामा वाङचुक राप्तेन लामा, फेन्दे क्लिनिकल लगायते पुर्याएको योगदान अविस्मरणीय रहेको र आगामी दिनमा पनि सहयोग जारी रहने अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा किमोलुङ फाउन्डेसनका संस्थापक अध्यक्ष वाङचुक राप्तेन लामाले आफू केही समय नमोबुद्ध नगरपालिकाको स्वास्थ्य सेवामा सक्रिय रहेको र नगर बासी महिलाहरूको स्वास्थ्य समस्यालाई नजिकैबाट नियालेका कारण उनीहरूको सेवाका लागि एम्बुलेन्स सहयोग गरेको बताए । कोभिड महामारीको समयमा राहत वितरण लगायतका कार्यमा समेत सहयोग गरेको जानकारी दिँदै उनले आगामी दिनमा पनि नमोबुद्ध नगर बासीका लागि आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा फेन्दे फाउन्डेसनका केम्पो चोङजीले एम्बुलेन्स सहयोग उपलब्ध गराएकोमा सहयोगी दाताहरू प्रति आभार प्रकट गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















