बनेपा । सर्वोच्च अदालतको फैसला पछि दल विहीन भएका ओली समूहले काभ्रेमा नेकपा (एमाले) ब्युँताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काभ्रे जिल्ला कार्यालयमा ओली समूहका केही कार्यकर्ताहरूले नेकपा (एमाले) नामको साइनबोर्ड राखेर एमाले ब्युँताउन खोजिएको हो ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच पार्टी एकता भएपछि दुवै पार्टीका अध्यक्षहरूले पार्टी विघटन गरिएको थियो । विघटन भएपछि त्यस बखतको दुवै पार्टी फेरि दर्ता भएको थियो । यतिखेर सन्ध्या तिवारीको नेतृत्वमा नेकपा (एमाले) र गोपाल किराँतीको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) अस्तित्वमा छ ।
तर पनि ओली समूहका कार्यकर्ताहरू आफू एमाले मै रहेको भन्दै कार्यालयमा रहेको साइनबोर्ड नै परिवर्तन गर्ने अभियानमा लागेका छन् ।
ओली समूहकै कार्यकर्ताहरू असन्तुष्टि
काभ्रेमा पार्टी कार्यालयको साइनबोर्ड नै परिवर्तन गरेपछि ओली पक्षका केही कार्यकर्ताहरूले असन्तुष्टि जनाएका छन् । पार्टी केन्द्रीय समितिले कुनै निर्णय नगरी यसरी एमालेकै साइनबोर्ड राख्नु अराजक भएको बताए । ‘एमाले अर्कैको नाममा छ, एमाले विघटन गरेर अर्कैले नयाँ पार्टीको रूपमा एमाले दर्ता गरिसकेको अवस्थामा यसरी हामी एमाले हौँ भन्नु बेठीक हो ।’ एक असन्तुष्टि कार्यकर्ताले भने, ‘अराजकता बाहेक यो केही पनि होइन, पार्टी केन्द्रको निर्णय आउनु प¥यो नि ।’
प्रधानमन्त्री स्वयं दल विहीन भइसकेको अवस्थामा यसरी नाम फेर्दा पार्टी एकतामा समेत यसले असर गर्ने उनको तर्क छ । ‘पूर्व माओवादी र पूर्व एमाले अहिले ओली पक्षमा पनि छ ।’ उनको तर्क छ, ‘यो प्रकारको हर्क तले माओवादी केन्द्रबाट ओली समूहमा लागेकाहरूलाई के प्रभाव पार्छ ? हेक्का राख्नु पर्दैन ?’
साइनबोर्डमा बास्कोटा र ओलीको फोटो
ओली समूहले राखेको साइनबोर्ड मुनि केपी ओली र गोकुल बास्कोटाको फोटो राखिएको छ । सो फोटोमा ओलीको भन्दा बास्कोटाको ठुलो छ । यसले ओलीलाई भन्दा बास्कोटालाई बढी महत्त्व दिएको अर्थ लाग्छ । पार्टी एकता हुनु अघि बागमती अञ्चल कमिटीको स्कुलिङ विभाग सदस्य मात्र रहेको बास्कोटा पार्टी एकता भएपछि एका–एक केन्द्रीय सदस्यमा मनोनीत भएका थिए ।
त्यसपछि ओलीले उनलाई ‘किचेन क्याबिनेट’ बनाएका थिए । त्यसपछि राष्ट्रिय चर्चाको व्यक्ति बनेका थिए । ७० करोड भ्रष्टाचार गर्न लागेको आरोप लागेका बास्कोटा ओलीकै आशीर्वादले ‘क्लिन चिट’ पाए झैँ गरी प्रस्तुत हुँदै हिँडेका छन् ।
पार्टी कार्यालयमा यसरी बास्कोटा र ओलीको फोटो राख्नु उचित नभएको बताउन थालेका छन् । कम्युनिस्ट पार्टीमा नेता प्रधान नहुने र नीति प्रधान हुने भएकोले व्यक्तिको भजन गाउनु कम्युनिस्ट चरित्र नभएको भनी ओली पक्षकै कार्यकर्ताहरूले टिप्पणी गर्न थालेका छन् । ‘पूजा अति भो, किन यति धेरै देवत्व करण गरेका हुन् ?’ उनले भने, ‘ओली र बास्कोटा नभए के आकाशै थाम्न नसक्ने हो र ? कम्युनिस्ट पार्टीमा सिद्धान्त र विचार मुख्य कुरा हो, नेता वा पात्र सहायक कुरा हो ।’
पूर्ववत् रूपमै फर्किनु पश्चगामी
नेपाली कम्युनिस्ट आन्दोलनमा विभिन्न समयमा विभिन्न कम्युनिस्ट पार्टीहरू पुनर्गठन हुने कुरा अनौठो मानिँदैन । एमाले धारा र माओवादी धारालाई हेर्ने हो भने धेरै पटक पार्टी विघटन, नयाँ पार्टी गठन, पार्टी पुनर्गठन गरेर यहाँसम्म आइपुगेको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र विघटन भइसकेको छ । दुवै पार्टी लिएको पार्टीको कार्यदिशा समेत महाधिवेशनमा छलफल गरेर टुङ्गो लगाउने भनेर थाँती राखेको थियो । तत्कालीन दुवै पार्टीले विकास गरेको कार्यदिशालाई नै समेटेर समाजवाद उन्मुख जनताको जनवाद पार्टीको न्यूनतम कार्यक्रम भनेर स्पष्ट पारी सकेको थियो ।
यसबाट के प्रस्ट हुन्छ भने कम्युनिस्ट दर्शनले विकास र गतिशीलतालाई विश्वास गर्दछ । परिवर्तनलाई विश्वास गर्दछ । समाज विकासको नियमलाई स्विकार्दछ । त्यसैले फेरि एमाले वा माओवादी केन्द्रमा फर्किनु पश्च गमन मात्र होइन, मार्क्सवादका आधारभूत सिद्धान्तबाट समेत च्युत हुनु हो ।
तर ओली समूह एमालेमै फर्किनु उसको प्रतिगामी, पश्चगामी र विसर्जनवादी चरित्र उदंगो हुनु हो । विकासीत राजनीतिक घटनाक्रम कसरी अघि बढ्छ हेर्न भने बाँकी छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















