धुलिखेल । कोभिड–१९ कारण रोकिएको एकीकरण मार्ग पदयात्रा फेरि सञ्चालन हुने भएको छ । नेपाली सेना कालीजंग गण, धुलिखेलले आयोजना गर्न लागेको उक्त पदयात्रा आगामी फागुन २९ गते सञ्चालन हुन लागेको हो ।
सो गणका नयाँ प्रमुख सेनानी मिलन थापाले आज पत्रकारसँग राखेको परिचयात्मक कार्यक्रममा उक्त कुराको जानकारी दिएका हुन् ।
नेपाली सेनाको इतिहास प्रवर्द्धन गर्ने उद्देश्यले एकीकरण मार्ग पदयात्रा गर्न लागेको प्रमुख सेनानी थापाले जानकारी दिए ।
‘काभ्रे जिल्लामा ऐतिहासिक एकीकरणको समयमा प्रयोग भएका एकीकरण मार्ग र कोटहरूको पहिचान गरी उक्त एकीकरण मार्ग र कोटहरूको संवर्द्धन गर्न नेपाली सेनाले स्थानीय निकाय तथा स्थानीय जनताहरूसँग सहकार्य गर्दै उक्त मार्ग तथा कोटहरूको पहिचान, संरक्षण, संवर्द्धन र सैनिक इतिहासलाई प्रवर्द्धन गर्ने तर्फ सदैव अग्रसर भई कार्य गर्दै आइरहेको छ ।’ थापाले भने, ‘यस जिल्लामा रहेका एकीकरण मार्ग र कोटहरूको पहिचान गर्न स्थानीय पर्यटन व्यवसायी, इतिहास विदहरुसँग परामर्श तथा राय सुझाव समेत लिइएको छ ।’
यस अघि नेपाली सेनाको तर्फबाट भ्रमण वर्ष २०२० लाई लक्षित गरी काभ्रे जिल्लामा रहेका गढी, किल्ला, दरबार तथा एकीकरणको दौरान प्रयोग गरिएका बाटोहरूको अवलोकनका साथै एकीकरणको दौरान प्रयोग भएका विभिन्न ६ वटा पदमार्गहरू पहिचान गरेको थियो ।
यी हुन् पहिचान गरिएको एकीकरण मार्ग
१. वि.सं. १८०३ मा नगरकोट कब्जा गरे पश्चात् वि.सं. १८१६ मा पलान्चोक कब्जा गर्न नगरकोट–अनेकोट–लामिडाँडा हुँदै पलान्चोक कब्जा गर्न प्रयोग भएको बाटोलाई KUT-1 को रूपमा पहिचान गरिएको छ ।
२. वि.सं. १८१६ मा पलान्चोक माथि विजय प्राप्त गरे पश्चात् भमरकोट काभ्रेकोट विजय गरी वि.सं.१८१८ असार ३० गते चौकोट माथि हमाल गर्दा प्रयोग भएको बाटोलाई KUT-2 को रूपमा पहिचान गरिएको छ ।
३. वि.सं. १८१८ असार ३० मा चौकोट विजय गरी फष्कोट–फुलबारीकोट–बच्चाकोट–मेथिनकोट कब्जा गर्दै वि.सं. १८१९ असोज २ गते तेमालकोट कब्जा गर्न प्रयोग गरिएको बाटोलाई KUT-3 को रूपमा पहिचान गरिएको छ ।
४. वि.सं. १८१९ असोज २ गते तेमालकोट विजय पश्चात् धवाँकोट–दाप्चानाम्बुडा (नमोबुद्ध)– फष्कोट हुँदै वि.सं. १८२० कार्तिक १० गते पुनः चौकोट विजय र सोही दिन कोटखेल हुँदै धुलिखेल विजय गर्दा प्रयोग भएको बाटोलाई KUT-4 को रूपमा पहिचान गरिएको छ ।
५. वि.सं. १८२० कार्तिक १० गते धुलिखेल विजय पश्चात् चौकोट–शारदाकोट–गोरखनाथ हुँदै वि.सं. १८२० कार्तिक ११ गते पनौती कब्जा गर्न प्रयोग गरिएको मार्गलाई KUT-5 को रूपमा पहिचान गरिएको छ ।
६. वि.सं. १८२० कार्तिक १४ गते बनेपा, साँगा र नाला कब्जा गर्न धुलिखेलबाट गोसाईस्थान–नालाकोट–साँगा हुँदै बनेपा र पनौतीबाट नागीडाँडा–साँगा हुँदै बनेपा आउन प्रयोग गरिएको मार्गलाई KUT-6 को रूपमा पहिचान गरिएको छ ।
५०० जना सहभागी हुने
पदयात्रामा ५ सय जना सहभागी हुने प्रमुख सेनानी थापाले जानकारी दिए । जङ्गी अड्डा र जिल्लाबाट स्थानीय आमन्त्रित पाहुना गरी सो सङ्ख्यामा सहभागिता हुने लक्ष्य राखिएको उनले बताए ।
पदयात्राको लागि ५. वि.सं. १८२० कार्तिक १० गते धुलिखेल विजय पश्चात् चौकोट–शारदाकोट–गोरखनाथ हुँदै वि.सं. १८२० कार्तिक ११ गते पनौती कब्जा गर्न प्रयोग गरिएको मार्गलाई लिएको थापाले जानकारी दिए ।
बिहान ८ बजे धुलिखेलबाट सुरु हुने उक्त पदयात्रा दिउँसो ३ बजेर ५० मिनेटमा टुङ्गिने बताइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















