धुलिखेल । औपचारिक रूपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट पूर्ववत् रूपमै एमाले र माओवादी केन्द्र ब्युँतिएपछि बागमती प्रदेश सभा सदस्य सांसद लक्ष्मण लम्सालले कडा प्रतिक्रिया दिएका छन् । ओली पक्षका नेता तथा कार्यकर्ताहरूले सामाजिक सञ्जालमा निकृष्ट र अराजनैतिक अभिव्यक्तिहरू दिन थालेपछि सांसद लम्सालले उक्त प्रतिक्रिया दिएका हुन् ।
सामाजिक सञ्जालमा लम्सालले एमाले–माओवादी कसैको पौरखले नभएको र नेतृत्वले लिएको अपरिपक्व निर्णयको परिणाम भएको बताए । एमाले समातेर कोही नबसेको र एकै पटक एमाले र माओवादी केन्द्र विघटन भएको र एकै पटक ब्यूँतिएकाे उनले बताए ।
‘२३ गतेको फैसला पूर्व नेकपा आफ्नो नै हो, मेरै हो भन्ने दाबी के ओलीले गरेनन् र ? नेपाल, खनाल र दाहाल सबैले गरेको होइन ? भ्रम नपाले हुन्छ सामाजिक सञ्जालमा लेखेर आफूलाई विद्धान ठान्नेहरूले कसैको पौरखले एमाले र माओवादी भएको होइन यो त नेतृत्वले लिएको अपरिपक्व निर्णयको परिणाम मात्रै हो ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कम्युनिस्ट एकता किन गरियो र के प्राप्ति भयो ? कम्युनिस्ट एकता र विभाजनबाट नेपाली समाजले के पायो ? कार्यकर्ताले यस्ता सवाल उठाउनु पर्ने होइन र ? को एमाले समातेर बसेको थियो र ? कोही पहिले र पछि एमाले होइन एकै पटक विघटन भयो र ब्युँतियो पनि । फेरि पनि घमन्ड, आवेग, उत्तेजना र अराजकता बन्द गरौ ।’
लम्सालले भ्रष्ट आचरणको विरोध गर्दै युगिन आवश्यकताको पार्टी निर्माणमा अगि बढ्न समेत आव्हान गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।