भकुण्डेबेशी । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेर मनाएको छ । महिलाको हकहितका लागि योगदान गर्ने व्यक्तिलाई सम्मान गर्दै कार्यक्रममा नगरपालिकाभित्र रहेका महिलाहरूका समस्या तथा त्यसलाई समाधान गर्ने उपायबारे छलफल समेत भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य गोमा भुर्तेलले हरेक क्षेत्रमा महिलालाई ३३ प्रतिशत सहभागिता संविधानले सुरक्षित गरेको र त्यसलाई व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । भुर्तेलले महिला अधिकारको लडाई अझै नसकिएको भन्दै अधिकारका लागि महिलाहरू अझै लड्नुपर्ने बताइन् ।
त्यसै गरी कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले नगरभित्र महिलाको सशक्तीकरण, आर्थिक उन्नति, हिंसा न्यूनीकरणका लागि नगरपालिकाले विगतदेखि नै सक्रियतापूर्वक काम गरिरहेको बताए । ‘हामी आगामी दिनमा पनि महिला हिंसा न्यूनीकरणमा विशेष जोड दिँदै सोही अनुसार नगरपालिकाको नीति तथा कार्यक्रम तयार पार्ने छौँ ।’ उनले भने, ‘महिलालाई रोजगारीमा पहुँच, राजनीतिक एवं सामाजिक क्षेत्रमा पहुँच वृद्धि गर्न हामी लागिपरेको र समृद्ध नगर निर्माणमा महिलाहरूसँग हातेमाले गर्दै नगरपालिका अगाडि बढ्नेछ ।’
त्यस्तै नगर उपप्रमुख रामदेवी तामाङले महिला सशक्तीकरणका क्षेत्रमा अन्य स्थानीय तह भन्दा नमोबुद्ध नगरपालिका अग्रस्थानमा रहेको बताइन् । ‘हिंसापीडित महिला, एकल महिलाका लागि नगरले थप विशेष कार्यक्रमहरू ल्याएको र त्यसले महिलाहरूको आर्थिक उन्नतिमा सघाउ पु¥याएको मैले महसुस गरेको छु ।’ उनले भनिन्, ‘आगामी दिनमा पनि नगरपालिकाका वडा वडामा सचेतनामूलक कार्यक्रम, आर्थिक विकासका लागि सीपमूलक तालिमहरू सञ्चालन गर्ने छौँ । हिंसापीडित महिलालाई हिंसा सहेर नबस्न र नगरपालिकामा रहेको न्यायिक समितिमा आउन अनुरोध समेत गर्न चाहन्छु ।’
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले समृद्धिको सूचक चिल्लो बाटो र ठुला घर नभई सबै क्षेत्रमा समानता समृद्धिको सूचक भएको बताए । बाहिर देखिने भन्दा घरभित्र हुने हिंसा डरलाग्दो हुने र त्यसलाई न्यूनीकरण गर्नका लागि महिलाहरू जागकरुक हुनुपर्नेमा पौडेलले जोड दिए ।
सम्मान पाउनेहरू को–को थिए ?
कार्यक्रममा छोरी जन्माउनेलाई पाँच हजार रुपैयाँ प्रोत्साहन रकमको व्यवस्था गर्ने वडा नं. ९ का अध्यक्ष मेलबहादुर लामा, शैक्षिक क्षेत्रबाट महिला सशक्तीकरणमा भूमिका निर्वाह गर्ने शिक्षिका चन्द्रादेवी खनाल, महिलाका लागि सेफ हाउस सञ्चालन गर्ने देवकी खनाल, सहकारीको माध्यमबाट महिलाको आर्थिक उन्नति र सशक्तीकरणमा भूमिका निर्वाह गर्ने भुवनेश्वरी श्रेष्ठ तथा नगरभित्रकै ज्येष्ठ महिला स्वास्थ्य स्वयंसेविका ठूलीमाया तामाङलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रदेश सांसद भुर्तेल, नगर प्रमुख तिमल्सिना, उपप्रमुख तामाङ लगायतले उनीहरूलाई सम्मान गरेका थिए ।
कार्यक्रममा मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले महिला अधिकार, लैङ्गिक हिंसा र यौन दुर्व्यवहार विषयमा कार्यपत्र प्रस्तुत गर्दै नमोबुद्ध नगरपालिकामा महिलाहरूको अवस्था, महिला हिंसाको अवस्थाबारे जानकारी दिएका थिए ।
यस्तै कार्यक्रममा अवकाश प्राप्त वरिष्ठ महिला विकास अधिकृत माया लोहनीले महिला विकासका लागि भएका प्रयासहरूबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने उद्यमशीलता विकास विज्ञ तथा जेण्डर मास्टर प्रशिक्षक विष्णु जोशीले सुखी नेपाली समृद्ध नेपालका लागि महिला उद्यमशीलताबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















