काभ्रे । नेकपा (एमाले) की नेतृ रचना खड्काले प्रधानमन्त्री समेत रहेको एमाले अध्यक्ष ओलीलाई ईंगित गर्दै प्रश्न गरेकी छिन् । सर्वोच्च अदालतको आदेशले एमाले र माओवादी केन्द्र ब्युँतेपछि खड्काले प्रतिक्रिया दिँदै ओलीलाई धेरै प्रश्न गरेकी छिन् ।
सामाजिक सञ्जाल मार्फत उनले नेकपा एमाले ओलीको निर्णयले नभई अदालतको आदेशले बिउँझेको बताउँदै एमाले आफूहरूको लागि प्राण भन्दा प्यारो थियो र अहिले पनि रहेको बताएकी छिन् ।
‘अहिले भन्नू यति छ नेकपा एमाले के पी कमरेडको निर्णयले हैन अदालतको आदेशले बिउँझेको हो । र यो २०७५ ज्येष्ठ ३ गते अगाडीको एमाले हो जहाँ हामी सबै थियौँ र त्यो एमाले हाम्रा लागि प्राण भन्दा प्यारो थियो र छ ।’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।
उनले यस्तो लेखेकी छिन्ः
याद राखौँ,
अदालतले व्याख्या गरेको नेकपा एमाले प्रधानमन्त्री के. पी. शर्मा ओलीले २०७७ साल पुस ५ गते प्रतिनिधि सभाको विघटन गरेपश्चात् बालुवाटारबाट निर्माण गरिएका कमिटी र थपिएका मान्छेहरूको समूह हैन ।
र, यो कुनै कमिटीमा छलफल समेत नगरीकन के.पी. कमरेडको एकल निर्णयमा तत्कालीन नेकपा माओवादी केन्द्रसँग गरिएको २०७५ ज्येष्ठ ३ गते पछाडि बनेको नेकपाको संरचना पनि हैन ।
अदालतले भनेको नेकपा एमाले नवौं महाधिवेशनमा तत्कालीन अध्यक्ष कमरेड झलनाथ खनालले निर्वाचित कमिटीलाई हस्तान्तरण गरेको सिङ्गो एमाले थियो । सिङ्गो नेकपा एमाले कसरी छिन्न भिन्न पारियो र अहिले पनि छिन्न भिन्न पार्न खोजिँदै छ र व्यक्तिगत सम्पत्ति जस्तो गरिँदै छ यसलाई समयमै चिन्न जरुरी छ ।
नेकपा एमाले र माओवादी बिचको एकता कमरेड के पी ओलीकै निर्णयमा भएको हो । नेकपा एमाले र माओवादी केन्द्र बिचको एकता गलत थियो भन्ने ठाउँमा हामी पुगेका हौँ भने त्यो गल्ती गर्ने को हो ? जनताको बहुदलीय जनवादलाई समेत दाउमा राख्ने गल्ती गर्नेलाई एमाले भन्ने नैतिक हक छ वा छैन ? एकता सही थियो भने यसको विघटनको निर्णयमा किन दीपावली गर्दैछौं ? औपचारिक रूपमा एमालेलाई सकाएरै भए पनि देश, जनता र नेपालको कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन भनेर गरिएको एकतालाई बचाउनु पर्छ भन्नेहरूलाई किन छि छि र दुरदुर गरिँदै छ ?
हामी अदालतले तोकिदिएको सीमाभित्रै बसेर यस्ता सबै विषयमा छलफल गरौँला । लोकतन्त्रमा पारदर्शिताको ठुलो अर्थ छ । जालझेल, छलकपट र षडयन्त्रबाट हाम्रो राजनीतिलाई बचाउनुपर्छ ।
अहिले भन्नू यति छ नेकपा एमाले के पी कमरेडको निर्णयले हैन अदालतको आदेशले बिउँझेको हो । र यो २०७५ ज्येष्ठ ३ गते अगाडीको एमाले हो जहाँ हामी सबै थियौँ र त्यो एमाले हाम्रा लागि प्राण भन्दा प्यारो थियो र छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।