काठमाडौँ । नेकपा एमालेको वरिष्ठ नेता माधव नेपाल पक्षीय भेलाले कार्यकर्तालाई विचारमा जुझारु तर अन्य कुरामा संयमित हुन आग्रह गरेको छ । बैठकले हिजोका तिता पिरा कुरा बिर्सेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने समेत निष्कर्ष निकालेको छ ।
बैठकपछि नेता रघुजी पन्तले हिजोका कुराहरूलाई बिर्सेर पार्टीलाई बलियो बनाउँदै एकताबद्ध बनाएर अगाडि बढाउने निर्णय गरेको जानकारी दिए । तर त्यसका लागि निर्णायक भूमिका अध्यक्ष केपी ओलीको हुने भएकाले त्यसतर्फ सचेत गराइने पन्तको भनाइ छ ।
‘विकसित घटनाक्रमपछि कसरी पार्टी अघि बढाउने भन्ने विषयमा छलफल भयो र त्यसका लागि निर्णायक भूमिका पार्टी अध्यक्षकै हुन्छ भन्ने निष्कर्ष पनि निकालियो’ पन्तले भने, ‘आफू अन्तर्गतका कार्यकर्तालाई विचारमा जुझारु तर अन्य कुरामा संयमित हुन आग्रह भेलाले गरेको छ ।’
उनले प्रतिनिधि सभा विघटनपछि विचारहरू फरक भए पनि अव ती कुराहरू बिर्सेर अघि बढ्नुपर्ने आवश्यकता ठहर गरेको बताए । ‘प्रतिनिधि सभा विघटन गरिएपछि आ–आफ्नै दृष्टिकोण र विचार थिए। अब ती बिर्सेर अघि बढ्नुपर्छ’, पन्तको भनाइ छ । त्यस्तै एमाले र माओवादीबिच तत्काल एकता सम्भव नभए पनि प्रयास भने जारी राख्ने विषयमा पनि छलफल भएको छ । पन्तले वामपन्थीहरूको मोर्चा र सरकार बनाउनु उपयुक्त हुने निष्कर्ष निकालेको जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।