काठमाडौं । नेकपा (एमाले) खनाल–नेपला पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा ४ हजार जना नेता कार्यकर्ताको सहभागी रहेका छन् । आजबाट शुरु भएको भेलाकोबारेमा एमाले सचित तथा प्रचर विभाग प्रमुख योगेश भट्टराईलाई एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी दिएको हो ।
विज्ञप्तिमा भट्टराईले आजको भेलामा भएको उत्साहपूर्वक सहभागीताले पार्टी एकताबद्ध रहन्छ भन्ने सन्देश दिएको बताएका छन् ।
‘सरकारी साधन स्रोत र पार्टी सत्ताको दुरुपयोग गर्दै भेलालाई असफल पार्न गरिएका तमाम हर्कतहरुलाई परास्त गर्दै आज देशभरबाट उत्साहपूर्वक कमरेडहरुको सहभागिता रहनुले पार्टी एकताबद्ध रहन्छ भन्ने सन्देश दिएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको विधान, नीति र निर्णयको विरुद्धमा उभिँदै एकल व्यक्तिको सर्वोच्चतामा पार्टीलाई निजी कम्पनीमा परिणत गर्ने दृष्प्रयत्नलाई असफल पार्दै पार्टीलाई जनवादी केन्द्रियताका सामूहिक प्रणालीमा पुनस्र्थापित गर्ने काममा आजको भेलाले महत्वपूर्ण योगदान दिएको छ ।’
यस्तो छ विज्ञप्तिः
हाम्रो पार्टी नेकपा (एमाले) द्वारा आयोजित राष्ट्रिय कार्यकर्ता भेला आजबाट आरम्भ भएको छ । पार्टीमा उत्पन्न विषम परिस्थितिका बारेमा छलफल गरी पार्टी पंक्तिको एकीकृत धारणा तय गर्न र त्यस अनुरुप पार्टी पंक्तिलाई देशव्यापी रुपमा परिचालन गरी पार्टीलाई सुदृढ, एकताबद्ध र क्रियाशील बनाउन आयोजित यस भेलामा देशभरिबाट चार हजार नेता–कार्यकर्ताहरु उत्साहका साथ सहभागी हुनुभएको छ ।
पार्टीका पूर्वअध्यक्ष तथा बरिष्ठ नेता कमरेड झलनाथ खनालको अध्यक्षतामा आयोजित भेलामा बरिष्ठ नेता कमरेड माधवकुमार नेपालले केन्द्रीय कमिटीका तर्फबाट नौ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत गर्नुभएको छ । अवधारणापत्रमा पार्टीमा स्वेच्छारिता, व्यक्तिवाद, एकाधिकारवाद र दक्षिणपन्थी प्रवृत्ति हुर्किएका कारण अहिलेको अवस्था उत्पन्न भएकाले तिनका विरुद्धमा दृढतापूर्वक लड्नुबाहेक पार्टी एकता र कम्युनिस्ट आन्दोलनलाई बचाउने अरु कुनै उपाय नभएको उल्लेख गर्दै त्यसका लागि पार्टी पंक्तिलाई परिचालन हुनुपर्नेमा जोड दिइएको छ । पार्टी पंक्तिले आगामी दिनमा निर्वाह गर्नुपर्ने भूमिका, वर्तमान अवस्थाका चुनौतीहरु र आगामी कार्यभारहरुका बारेमा अवधारणापत्रमा उल्लेख गरिएको छ ।
पार्टी स्थायी कमिटी सदस्य कमरेड सुरेन्द्रप्रसाद पाण्डेले सञ्चालन गर्नुभएको भेलामा उपाध्यक्ष कमरेड अष्टलक्ष्मी शाक्यले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो भने अग्रज नेता कमरेड सिद्धिलाल सिंहले शुभकामना मन्तव्य दिनुभएको थियो । भेलामा अग्रज नेता कमरेडहरु कमलप्रसाद कोइराला, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित, शीतल झा, राधाकृष्ण मैनालीलयायत शुभेच्छा प्रकट गर्न उपस्थित हुनुभएको थियो ।
उक्त अवधारणापत्रमाथि छलफल गर्न सहभागीहरुलाई सात प्रदेशका साथै सम्पर्क कमिटी, जनसंगठन तथा पेशागत संगठन र केन्द्रीय निकाय तथा विभाग गरी १० समूहमा विभाजन गरिएको छ । आ–आफ्नो सम्ूहमा छलफल गरी टोली नेतामार्फत भोलि सुझावहरु पेस गर्ने र ती सुझावहरुलाई समेत ध्यानमा राखी अवधारणापत्र पारित गर्ने कार्यक्रम छ । सहभागीहरुको समूह विभाजन तथा छलफलमा सहजीकरण गर्नका लागि प्रदेश नम्बर १ मा कमरेड भीमप्रसाद आचार्य, प्रदेश नम्बर २ मा कमरेड घनश्याम भुसाल, वागमती प्रदेशमा कमरेड अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा कमरेड गोकर्ण विष्ट, लुम्बिनी प्रदेशमा कमरेड युवराज ज्ञवाली, कर्णाली प्रदेशमा कमरेड योगेश भट्टराई, सुदूरपश्चिम प्रदेशमा कमरेड भीम रावल, सम्पर्क कमिटीमा कमरेड बेदुराम भुसाल, जनसंगठन तथा पेशागत संगठनमा कमरेड बेदुराम भुसाल र केन्द्रीय निकाय तथा विभागमा कमरेड अमृतकुमार बोहरालाई जिम्मेवारी तोकिएको छ ।
सरकारी साधन स्रोत र पार्टी सत्ताको दुरुपयोग गर्दै भेलालाई असफल पार्न गरिएका तमाम हर्कतहरुलाई परास्त गर्दै आज देशभरबाट उत्साहपूर्वक कमरेडहरुको सभागिता रहनुले पार्टी एकताबद्ध रहन्छ भन्ने सन्देश दिएको छ । पार्टीको विधान, नीति र निर्णयको विरुद्धमा उभिँदै एकल व्यक्तिको सर्वोच्चतामा पार्टीलाई निजी कम्पनीमा परिणत गर्ने दृष्प्रयत्नलाई असफल पार्दै पार्टीलाई जनवादी केन्द्रीयताका सामूहिक प्रणालीमा पुनस्र्थापित गर्ने काममा आजको भेलाले महत्वपूर्ण योगदान दिएको छ ।
अवधारणपत्रका साथ समसामयिक विषयमा प्रस्तावहरु पारित गर्दै भेला भोलि समापन हुनेछ ।
योगेश भट्टराई
प्रमुख
केन्द्रीय प्रचार विभाग
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी)
प्रमुख
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी)
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















