अत्यन्तै क्रूर र अमानवीय ढङ्गले काभ्रे जिल्लाको अनेकोटमा ७ जना जनकलाकारहरूको हत्या गरेको दिन आज । २२ वर्ष अघिको यो घट्नामा माओवादी जनकलाकारहरूलाई तत्कालीन सरकारका प्रहरी प्रशासनले घरमा आगो लगाइ घरभित्रै जिउँदै जलाएको थियो ।
जनताको शासनका पक्षमा ज्यान हत्केलामा राखेर मुक्तिका गीत गाउँदै हिँडेका संस्कृतिकर्मीको हत्या भएको दिनलाई माओवादीहरूले सांस्कृतिक प्रतिरोध दिवसका रूपमा मनाउँदै आएको छ ।
२०५५ साल चैत्र ५ गते आजकै दिन अनेकोटमा उनीहरूको सामूहिक हत्या गरिएको थियो ।
माओवादी विरुद्ध परिचालन गरिएका तत्कालीन प्रहरी प्रशासनले अनेकोट बास बसिरहेका कलाकारहरूलाई चौतर्फी घेरा हालेर हत्या गरेको थियो । कलाकारहरू निःशस्त्र अवस्थामा रहेको बेला जिउँदै जलाएर उनीहरूलाई मारिएको थियो ।
उक्त हत्याकाण्डमा जनकलाकारहरू च्याङवा लामा, निर्मला देवकोटा, गुम्बासिंह तामाङ, मञ्जु कुँवर, डम्बर श्रेष्ठ, सुभद्रा देवकोटा र चिनीमाया लामा मारिएका थिए ।
अनेकोटलाई मुक्ति युद्धको महान् घटनाका रूपमा लिइन्छ । त्यतिखेर चौतर्फी आगो लगाएर कलाकारहरूलाई आत्मसमर्पणका लागि भनिएको थियो । तर आगोको लप्का र धुवाँको मुस्लोबिच आत्मसमर्पणका लागि गरिएको आदेशलाई उनीहरूले अस्वीकार गरे । आगोको लप्कोले लपेटिरहेको ज्यान, धुवाँको मुस्लोले सासै फेर्न पारेको कठिन अवस्थालाई पनि उनीहरूले पर्बाह गरेनन् ।
‘बाँच्नका लागि आत्मसमर्पण गर’ भन्ने सत्ताको आदेशलाई उनीहरूले चुनौती दिए । त्यति बेलाको पार्टी स्कुलिङ अनुसार भौतिक जीवनभन्दा विचार, आस्था र निष्ठाको महत्त्वलाई उनीहरूले पुष्टि गरेका थिए ।
अनेकोटमा घरभित्रै बसिरहेको अवस्थामा हत्या गरिएका कलाकारको अपराध भनेको जनमुक्तिको गीत गाउनु थियो । उनीहरूले गाउने जनमुक्तिको भाकालाई सत्ताले ‘आतङ्ककारी’ नारा ठान्यो र उनीहरूको भाखामा साथ दिने गिटार, बाँसुरी, मादल, हार्मोनियमलाई सत्ताले विध्वंसक ‘बन्दुक’ देख्यो । उनीहरूले गाउने जनताको भाकाबाट आतङ्कित सत्ताले कलाकारहरूलाई आतङ्ककारी देख्नु अनौठो थिएन ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।